|

जाजरकोट : फिल्म बुलाकीको छायांकन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो। दुई दिनपछि टिकट पाएपछि उनी नेपालगन्ज हुँदै काठमाडौँ गइन्।

दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाइ मार्गबाट उडानका लागि होटलका सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुपर्‍यो। दुई दिनपछि गिरीलाई नेपालगन्ज पठाउन सकेकोमा डाँगीले खुसी व्यक्त गरे।

गिरी जस्तै बुटवलका रमेश न्यौपाने जुफाल विमानस्थलमा टिकटका लागि ४ दिन बस्नुपरेको बताए। उनले भने, ‘चार दिनपछि मात्र निकै सकसका साथ टिकट पाइयो, आकाशमा बादल देखिनबित्तिकै यहाँ हिउँ पर्न सुरु हुँदो रहेछ। चिसोको मात्रा पनि धेरै रहेछ। अनलाइनबाट टिकट दिने भए सजिलो हुन्थ्यो होला तर यहाँ यात्रु धेरै हुँदा प्राथमिकताका आधारमा जहाजमा जान पाइँदो रहेछ।’

‘बिहान ४ बजेदेखि नै विमानस्थलको मूल ढोकामा टिकटका लागि यात्रुहरू लाइन बसिरहेका हुन्छन्, टिकट भए सबैलाई दिन मन हुन्थ्यो तर के गर्नु?’‚ समिट एयरका प्रमुख पूर्णजंग शाहीले भने, ‘हामीसँग जम्मा १७ वटा सिट हुन्छ। त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउँदा भनेको जति उडाउन सकिदैन। तैपनि सक्दो मिलाउने काम भइरहेको छ।’

शाहीका अनुसार समिटले दैनिक एकपटक डोल्पाका लागि उडान भर्ने गर्दछ। डोल्पाबाट टिकट पाएर बाहिर जाँदा र आउँदा ठूलै युद्ध जितेझैँ हुने यात्रुहरू बताउँछन्। डोल्पामा प्रेस सेन्टरको जिल्ला अधिवेशन गराउन हिँडेका कर्णाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले नेपालगन्ज विमानस्थलमा र जुफाल विमानस्थलमा यात्रुको चाप देख्दा अचम्म परेको बताए।

उनले भने, ‘सडक मार्ग राम्रो भएको भए हवाइ मार्गबाट यति धेरै चाप हुने थिएन होला। विमानस्थलको अवस्था समेत खासै राम्रो छैन। जहाज चढ्दा समेत धेरै मेहनत गर्नुपरेको थियो।’

डोल्पाका अधिकांश सर्वसाधारण र घुम्न आएका आन्तरिक पर्यटक हवाइ मार्गबाट नै नेपालगन्ज झर्ने भएकाले यात्रुको चाप हुने गर्दछ। नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलमा जाँदा ९ हजारभन्दा बढी भाडा लाग्छ भने जुफालबाट नेपालगन्ज आउँदा ५ हजार बढी लाग्ने गर्दछ।

महँगो टिकट भए पनि भनेका वेला टिकट नपाउँदा यात्रुले समस्या भोग्दै आएका छन्। पत्रकार महासंघ डोल्पाका सचिव लेखबहादुर बुढा भन्छन्, ‘टिकट हातमा परे पनि ढुक्क हुने अवस्था छैन, किनकि यहाँ सिकिस्त विरामी आएमा हामी झरेर पनि बिरामी राखेर लिनुपर्छ।’

डोल्पामा निजी क्षेत्रका दुईवटा हवाइ कम्पनीले उडान भर्दै आएका छन्। समिट र ताराले डोल्पामा एक, एक उडान भर्दा यात्रुको चाप बढेको छ। नेपाल एयरलाइन्सले डोल्पामा उडान नगरेको झण्डै दुई वर्ष हुन थालेको छ।

यात्रुको चाप हेरेर उडान संख्या थप्नुपर्ने डोल्पावासीको माग रहेको छ। डोल्पाको मेसिनेचौरमा समेत अर्को विमानस्थल भए पनि सञ्चालनमा रहेको छैन।

सडक स्तरोन्नतिमा ढिलाइले हवाइमार्ग रोजाइ

जाजरकोट–डोल्पा सडक खण्डको ११८ किलोमिटर लम्बाइमध्ये १७ किलोमिटर सडक स्तरोन्नतिको काम दुई वर्षदेखि सुरु भए पनि पूरा भएको छैन।

सडक खण्डको बीचमा रहेका १३ वटा पुलमध्ये जाजरकोट खण्डका अधिकांश पुल निर्माणको चरणमा भए पनि डोल्पा खण्डमा निर्माण पूरा नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। सडक विभाग चौरजहारीले सडक र पुल निर्माणको जिम्मा लिएको छ।

जाजरकोट खण्डको १७ किलोमिटर सडक पिचका लागि आठबीसकोट नगरपालिकाका नगरप्रमुख गोरखबहादुर केसीले लिएको ठेक्काको काम दुई वर्ष बिते पनि पूरा भएको छैन। साइटमा कटिङको काम भए पनि एक मिटर पनि पिच गरिएको छैन।

रिम्नाबाट तल्लुसम्मको सडक स्तरोन्नति गर्नका लागि ठेक्काको अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख ध्रुव झाले बताए। निर्माणको गति हेर्दा पुल यो वर्ष पनि पूरा हुन नसक्ने देखिएको डोल्पाका प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.