|

कञ्चनपुर : सीमान्तकृत मुक्त हलिया, अपाङ्गता भएका व्यक्तिहरू, महिला र अधिकारबाट वञ्चित समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा मुक्त हलिया सशक्तिकरण परियोजना सञ्चालन गरिएको छ।

परियोजना डडेल्धुराको अमगरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका, परशुराम नगरपालिका, बैतडीको दशरचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडा केदार गाउँपालिका, सुर्नया गाउँपालिका, डोटीको जोरायल गाउँपालिका, शिखर नगरपालिका, शैल गाउँपालिका, बझाङको जयपृथ्वी नगरपालिका,थलारा गाउँपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकामा सञ्चालन गरिएको छ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको समन्वय तथा युरोपियन युनियनको आर्थिक सहयोगमा परियोजना सञ्चालन गरिएको हो। तीन वर्ष समयावधि रहेको परियोजनाको कुल बजेट ४ करोड ७९ लाख ९७ हजार ६ सय रुपैयाँ रहेको छ।

परियोजनाले सीमान्तकृत मुक्त हलिया, अपाङ्गता भएका व्यक्तिहरू, महिला र अधिकारबाट वञ्चित समुदायमाथि हुने भेदभावविरुद्ध सशक्त बनाउने उद्देश्य लिएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले बताए।

‘मुक्त हलिया लगायतका लक्षित समुदायका अधिकारको रक्षाका लागि परियोजनाअन्तर्गत सञ्चालन हुने कार्यक्रमले सघाउ पुर्‍याउने सुनारले बताए।

परियोजनाअन्तर्गत आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका लागि इएससिआर मोबाइल एपको प्रयोग गर्दै त्यसमा आधारभूत तथ्यांक राख्नेबारे तालिम प्रदान गर्ने, नेतृत्व तथा पैरवी सीपबारे क्षमता विकास तालिम सञ्चालन गर्ने, परिवर्तनकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, अधिकारका बारेमा प्रमाणमा आधारित पैरवी संवादका कार्यक्रम स्थानीय तह र प्रदेश तहमा गरिनेछन्।

यसैगरी समावेशी सार्वजनिक सेवा तथा स्रोत योजना निर्माण तथा कार्यान्वयनबारे स्थानीय सरकार लक्षित तालिमसँगै उद्यमशीलता र जीविकोपार्जन विकास र शुरुवातका लागि सहयोग गरिनेछ। 

जातीय आधारमा हुने भेदभाव विरुद्धका राष्ट्रिय तथा अन्तरराष्ट्रिय दिवस मनाउनका लागि समेत परियोजनाअन्तर्गत सहयोग उपलब्ध गराउने उद्देश्य लिएको छ।

परियोजनाका लाभग्राहीका रूपमा ५८ हजार ३१५ मुक्त हलियाको जनसंख्या रहेको छ। जसमा अपाङ्गता भएका व्यक्तिहरू, महिला र अधिकारबाट वञ्चित समूह रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.