|

विराटनगर : नेपाली कांग्रेस पाँचथरका निर्वातमान सभापति नरेन्द्रकुमार केरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेस १४औँ महाधिवेशनमा उनले आदिवासी जनजातिबाट केन्द्रीय सदस्यको उम्मेद्वार घोषणा गरेका हुन्।

दुई कार्यकालको जिल्ला सभापतिको जिम्मेवारी पूरा भएकाले अब केन्द्रीय सदस्यको उम्मेद्वारको रुपमा आफूलाई अघि सारेको केरुङले बताए।

‘देशभरबाट आउनुहुने प्रतिनिधिज्यूहरुले माया गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु,’  केरुङले भने‚ ‘लोकतन्त्रको सुदृढीकरण, पार्टी संगठनको निर्माण र परिचालनमा सकेसम्म राम्रो गर्ने प्रयास गरिएको छ। केन्द्रीय सदस्यको उम्मेदवारी मेरा लागि अवसर हो।’

केन्द्रीय सदस्यको तयारीका लागि प्रदेश राजधानी विराटनगर र संघीय राजधानी काठमाडौंका लागि सोमबार यात्रा सुरू गरिएको उनले बताए। दुई पटक जिल्ला सभापति निर्वाचित भएका केरुङले दोश्रो संविधानसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा पाँचथर क्षेत्र नम्बर १ (क) बाट उम्मेद्वार थिए। जिल्ला कार्यसमितिमा दुईपटक सहसचिव भएका थिए। यस्तै‚ ट्रेड युनियन कांग्रेस पाँचथरको तीन कार्यकालको सभापतिको जिम्मेवारी पनि निर्वाह गरेका छन्। पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दैगर्दा सभापति निर्वाचित भएका केरुङ २०६७ सालमा प्रजातन्त्रवादी प्राध्यापक संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

अग्रजको सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन गर्दै संगठन निर्माण, अभिलेखीकरण तथा राजनीतिक/सैद्धान्तिक बहस गर्दै अघि बढ्ने योजना रहेको केरुङले बताए। युग सुहाउँदो संगठन निर्माणलाई जोड दिँदै निरन्तर पार्टीको काममा लाग्नका लागि उम्मेदवारी दिन लागेको केरुङले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.