|

तनहुँ : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निरीक्षण गरेकी छन्। मन्त्रीले सरकारी तहबाट निर्माण भइरहेको जलाशययुक्त आयोजनाको काममा तोकिएकै समयमा पूरा गर्न निर्देशन दिइन्।

‘कुलेखानी बाहेक सञ्चालनमा रहेका सबै आयोजना नदीको बहावमा आधारित भएकाले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न विद्युत् आयात गर्नुपर्ने र बर्खामा खपत गर्न नसकी खेर फाल्नुपर्ने अवस्था छ’, भुसालले भनिन्, ‘यस्तो अवस्था अन्त्यका लागि रणनीतिक महत्त्वको जलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोत, साधन, स्थानीय समस्यालगायतका कारणले ढिलाइ हुनुहुँदैन, तोकिएकै समय र लागतका सम्पन्न गर्नुपर्छ।’ 

उनले निर्माणमा आइपर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री भुसालले आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने र त्यसबाटै स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने बताइन्।

आयोजनाको प्रवर्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले निर्माणमा देखिएका प्रगति र समस्याका बारेमा जानकारी गराएका थिए।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ।

ठेकेदार कम्पनीले केबुल सुरुङ, मुख्य पहुँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत् गृह खनिरहेको छ। सर्जट्यांकतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न गरेको छ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ। अहिलेसम्म ३० वटा टावरको जग हाल्ने कार्य सम्पन्न भई आठवटा टावर ठडाइएको छ।

 
आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ। कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ।

एडीबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.