|

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको चौधौँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य पाण्डेले पार्टीको चौधौँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले पार्टी सुधारेर राजनीति सुधार्ने र राजनीति सुधारेर देश सुधार्ने बाटोमा लैजान आफू अग्रसर रहने बताए। केन्द्रीय सदस्य पाण्डेले विचारमा एकरूपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको आफ्नो पहिलो एजेण्डा भएको चर्चा गरे।

पुराना पुस्ताको योगदान र बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको सोचलाई पार्टीमा अघि बढाउने उनले बताए।

पाण्डेले भने, ‘म बाह्रौँ अधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्य निर्वाचित भएको हुँ। तेह्रौँ अधिवेशनमा म खुला २५ जनाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको हुँ। अहिले पदाधिकारी तहमा जानुपर्छ। मैले बाजुराको बासिन्दा पनि भएको कारणले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवारी दिने विचार गरेको छु।’

देशभरबाट कांग्रेसका नेता कार्यकर्ताले पदाधिकारीमा पुग्नुपर्छ भन्ने सुझाव दिएपछि आफूले उम्मेदवारी दिएको पाण्डेले बताए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.