|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश तथा विदेशका लगानी कर्ताहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।

उनले नेपालमा लगानी गर्नेहरुको सम्पत्ति र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने बताए। प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरोकारवाला निकायहरु मिलेर काम गर्नुपर्ने बताए।

उनले नेपालको अर्थतन्त्रको गुणात्मक वृद्धिमा विदेशी विकास साझेदारको पनि त्यत्तिकै आवश्यकता रहेको बताए। प्रधानमन्त्री देउवाले आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बढाउन, मुलुकमा लगानीको वातावरण अझै सहज बनाउन र व्यवसायको लागत घटाउन सरकार प्रतिवद्ध  रहेको बताए।

प्रधानमन्त्री देउवाले भने, ‘सरकार तथा निजी क्षेत्रले गरेको कमी कमजोरीलाई उजागर गर्ने गुणात्मक वृद्धि आवश्यक हुन्छ, त्यसमा सरकारको एकल प्रयासले मात्रै सम्भव हुँदैन, निजी क्षेत्र र सबै सरोकारवालाहरुको संयुक्त प्रयासबाट मात्रै यो सम्भव छ। कोभिड १९ को महामारी सकिए, नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदै छौँ। अब आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बढाउन सरकार प्रतिबद्ध छ।

देश तथा विदेशका लगानी कर्ताहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न म आग्रह गर्दछु। नेपालमा तपाईंहरुको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ त्यसको ग्यारेन्टी सरकारले दिन्छ भन्ने कुरा पनि म विश्वास दिलाउन चाहन्छु।’

प्रधानमन्त्री देउवाले छोटो समयमा मुलुकको मुहार फेर्ने गरी विकास गर्नुपर्ने र सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको पनि प्रष्ट पारे। उनले सरकार अर्थतन्त्रलाई सुधार्न आवश्यक नियमन र सहजीकरणको पक्षमा रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.