दैनिक १५ सय यात्रुको आवागमन, सुरक्षा चुनौती थपिँदै

|

बारा : सिमरा विमानस्थलमा यात्रुको चाप ह्वात्तै बढेपछि व्यवस्थापनमा जटिल समस्या देखिएको छ।

४ वटा वायुसेवामार्फत दैनिक एक हजार ५ सय यात्रु सिमरा–काठमाडौं आवतजावत गर्छन्। विगतमा बुद्ध एयरले मात्रै सेवा दिँदै आएकोमा हाल श्री, यती र गुण एयरलाइन्सका दैनिक डेढ दर्जन जहाज आउजाउ गर्न थालेपछि यात्रु व्यवस्थापनमा जटिल समस्या देखिएको छ।

यात्रुको चाप बढ्दै जाँदा सुरक्षा चुनौती समेत थपिएको सिमरा विमानस्थलका सुरक्षा इन्चार्ज माधवप्रसाद पुडासैनीले बताए। विमानस्थलमा सवारी पार्किङ, हवाई जहाज पार्किङ, यात्रु प्रतीक्षालय, डिपार्चर हल (चेकजाँचपछि बस्ने ठाउँ), भिआईपी कक्ष अत्यन्तै साँघुरो भएको सुरक्षा इन्चार्ज पुडासैनीले जनाए।

‘२/३ वटा प्लेन एकैपटक आउँदा हवाई जहाज अवतरण गर्ने ठाउँ नभएर आकाशमै होल्ड गरेर बस्नुपर्ने अवस्था छ’, उनले भने, ‘हामीकहाँ ५०/६० जना यात्रु मात्रै बस्ने ठाउँ छ। एकैपटक २/३ वटा प्लेन आउँदा डेढ २ सय यात्रु हुन्छन्।’

मुख्यगरी बारा, पर्सा, रौतहट, मकवानपुर तथा भारतीय पर्यटकको विमानस्थलमा चाप बढेको इन्चार्ज पुडासैनीले जनाएका छन्। 

हाल सातामा तीन दिन सिमरा-पोखरा हवाई उडान सञ्चालन भइरहेको छ। सिमरा-काठमाडौँ उडानका लागि बुद्ध एयरको दैनिक ९ वटा, यती र गुणका २/२ वटा र श्रीको एउटा उडान हुने गर्दछ।

‘भिआईपी कक्ष पनि अत्यन्त साँघुरो छ, ४/५ जना भिआईपी एकैपटक आउनु भयो भने बस्ने ठाउँ छैन, हामीलाई पनि सुरक्षा चुनौती छ’, २००८ सालदेखि सञ्चालनमा आएको सिमरा विमानस्थलमा यात्रुको चाप बढे पनि संरचना भने पुरानै छ।

प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थललाई विकल्पको रूपमा लिन सकिए पनि बन्ने/नबन्ने निश्चित नभएकाले पनि समस्या भएको विमानस्थल प्रमुख भूपेन्द्र भट्टले जनाए।

‘अहिलेको यात्रुको आवतजावत र हवाई कम्पनीको चाप हेर्दा विमानस्थल अत्यन्तै साँघुरो भइसकेको छ’, प्रमुख भट्टले भने‚ ‘टर्मिनल बिल्डिङ, यात्रु चेकिङ हल, भिआईपी कक्ष तत्काल बढाउनुपर्ने देखिन्छ, नत्र भने अहिलेको अवस्थालाई थेग्न सकिँदैन’, भट्टले भने। 

विमानस्थलको क्षेत्र विस्तारका लागि प्रधान कार्यालयलाई लिखित जानकारी गराइसकेको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.