|
फाइल तस्वीर

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा आफ्नो पक्षको पदाधिकारी उम्मेदवार चयन गर्नका लागि आफूनिकट नेताको बैठक बुधबार बोलाएका छन्।

उनले बूढानीलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीका उम्मेदवार छान्न बिहान ९ बजे बैठक डाकेका हुन्।

१४ औं महाधिवेशनमा संस्थापन पक्षको उम्मेदवार प्यानल बनाउन बैठकमा छलफल हुने कांग्रेससम्बद्ध स्रोतले जानकारी दियो।

सभापतिमा देउवाले आफू उम्मेदवार हुने यसअघि नै बताइसकेका छन्। 

२ जना उपसभापतिको व्यवस्था रहेको कांग्रेसमा यसका लागि देउवा पक्षका ४ नेताले दाबी गरिरहेका भए पनि हालका उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का मुख्य दाबेदार मानिएका छन्।

संस्थापन पक्षबाट महामन्त्रीमा हाल सह-महामन्त्री रहेका प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेताहरू एनपी साउद, रमेश लेखक र प्रवक्ता विश्वप्रकाश शर्माको मुख्य दाबेदारी रहेको छ।

कांग्रेसमा सह-महामन्त्रीका दलिततर्फ देउवा समूहबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार दाबेदारी रहेको छ। जसमध्ये पनि प्रमुख दाबेदार भने मानबहादुर र मीनबहादुर नै रहेका छन्।

मुस्लिम कोटाको सह-महामन्त्रीमा देउवा समूहभित्रै चर्को प्रतिस्पर्धा छ। संस्ठापन समूहबाटै केन्द्रीय सदस्य फर्मुल्ला मन्सुर र अत्तहर कमाल मुसलमानबीच प्रतिस्पर्धा छ। महिलातर्फको सह-महामन्त्रीमा संस्थापन पक्षका धेरै आकांक्षी छन्।

चित्रलेखा यादव, पुष्पा भुसाल, डीना उपाध्याय, डा. डिला संग्रौला, ईश्वरी न्यौपाने र अम्बिका बस्नेतलगायत सह-महामन्त्रीका दाबेदार देखिएका छन्।

यसैगरी आदिवासी जनजातितर्फ सह-महामन्त्रीमा संस्ठापन पक्षका भीष्मराज आङ्देम्बे, चीनकाजी श्रेष्ठ र बहादुर लामा प्रमुख दाबेदार हुन्।आङदेम्बेले उम्मेदवारीको घोषणा गरिसकेका छन्।

मधेसीतर्फ सह-महामन्त्री छनोट गर्न पनि सभापति देउवालाई कठिन भएको छ।

उनको समूहमा महेन्द्र यादव, अजय चौरासिया, महेश चौरसिया, जंगीलाल राय र रामसरोज यादव सह-महामन्त्रीका लागि मुख्य आकांक्षी मानिएका छन्।

थारु सह-महामन्त्रीमा संस्थापन समूहका रामजनम चौधरी र योगेन्द्र चौधरीको नाम अगाडि छ।

पिछडिएको क्षेत्रबाट चुनिने एक सह-महामन्त्रीका लागि संस्थापनका केन्द्रीय सदस्य जीवनबहादुर शाही र पूर्वसांसद राजीवविक्रम शाहीको नाम चर्चामा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.