|

काठमाडौं : अर्जुन कुमारको निर्माणमा बनेको चलचित्र ‘चपली हाइट ३’ को रिलिज मिति ३ पुसमा तय गरिएको छ। कोरोना भाइरसको महामारीपछि रिलिज हुन लागेको ठूलो बजेटको यो फिल्मसँगै दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को रिलिज मिति तय भएपछि नेपाली चलचित्रको विवाद उत्कर्षमा पुगेको छ। 

अहिलेको निर्माता र हल व्यवसायीहरूको विवादका विषयमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्माता अर्जुन कुमारले भनेका छन्, 'म रिलिज डेटबाट ब्याक भएको छैन। यदि ब्याक हुनुपर्‍यो भने निर्मातासँग संगठित भएर ब्याक हुन्छु, यसै हुँदिनँ।' 

नेपाली फिल्म क्षेत्रमा इमान्दारीको कमी रहेको बताउँदै उनले भनेका छन्, 'जबसम्म फिल्म क्षेत्रमा इमान्दारी रहँदैन, तबसम्म फिल्म क्षेत्र यस्तै हुनेछ। विदेशी चलचित्रको चेपुवामा हामी सधैँ पर्ने हो। अहिले चपली हाइटलाई मात्रै यो समस्या परे जस्तो लागेको छ, तर यो वर्षौंदेखि हामीले भोग्दै आएको हो। अहिले संगठित नहुने हो भने यसले पछि अरूलाई पनि समस्यामा पार्छ नै।' 

दक्षिण भारतीय फिल्मको डबिङ ल्याएर चलाउँदा नेपाली फिल्म उद्योग नै कोल्याप्स हुन सक्ने उनले बताएका छन्। 

'नेपाली फिल्मको कुनै मान्यता पनि हुँदैन, फिल्ममा लगानी गर्नु भनेको बालुवामा पानी हाले जस्तै हुन्छ। नेपाली फिल्मलाई कसैले प्राथमिकतामा राख्दैन। नेपाली फिल्मलाई सधैँ सताइरहन्छ। यही चेपुवामा म अहिले परेको छु।' उनले भनेका छन्, 'डब फिल्म पनि नेपाल प्रवेश गर्‍यो भने यो काल पल्किए जस्तो हुन्छ, आगामी दिनमा यसको असर सबैलाई पर्छ।' 

आफू विदेशी फिल्मसँग नडराएको तर अहिलेको विषम परिस्थितिमा नेपाली फिल्मसँग विदेशी फिल्म जुधाउन नहुने उनले बताएका छन्। चलचित्र संघसँग नेपाली फिल्म लागेको १५ दिनसम्म अन्य फिल्म प्रदर्शन गर्न नपाउने सहमति भएको र सहमतिअनुसार काम नभएकोमा आफ्नो आपत्ति रहेको उनले जनाएका छन्। उनले भनेका छन्, 'संघले सात दिनकै अन्तरमा अर्को चलचित्र लगाएको छ। यो कदापि स्वीकार गर्न सकिने कुरा होइन। यसमा मेरो आपत्ति छ।'

एउटा फिल्मले मात्रै पुग्‍दैन, कसैलाई अन्याय गरेका छैनौँ

त्यस्तै, चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले हलमा धेरैवटा पर्दा भएकाले एउटा फिल्मले मात्रै नपुग्ने भएकाले अन्य भाषाका फिल्म पनि प्रदर्शन गर्न आवश्यक रहेको बताएका छन्। 

'यो त स्वतन्त्र व्यवसाय हो। उहाँको चलचित्र चल्दाचल्दै रोकिएको होइन। ठूलोबाट सानो हलमा सार्ने काम भएको छैन। उहाँको त चलचित्र नै रिलिज भएको छैन, कसरी अन्यायमा पर्नुभयो उहाँ?' उनले भनेका छन्, 'यस्तो भयो भने हामीसँग सम्पर्क गरे त हामी साथ दिन्छौँ। यो स्वाभाविक हो। योभन्दा अगाडिका फिल्म हेर्दा पनि जुधेकै छन्। यो त्यसरी मुद्दा बनाउने विषय होइन।' सिनेमा हलको पनि आफ्नो किसिमको लगानी रहेको र यो भनेको सबै मिलेर जानुपर्ने बेला रहेको उनले बताएका छन्। 

'बन्दाबन्दीमा पनि खर्च भएको छ, कर्मचारीलाई तलब दिएका छौँ। बिजुली, पानी, सुरक्षा, बहाल खर्च आदि कायम राख्न पनि अन्य फिल्म पनि चलाउन त पर्छ।' उनले भनेका छन्, 'हल व्यवसायी र चलचित्रकर्मीबीच १५ दिनभित्र अर्को चलचित्र चलाउन नपाइने सहमति भएको हो, तर अर्को नेपाली नै चलचित्र चलाउन नपाइने भन्ने सहमति हो। अन्य भाषाको चलचित्र चलाउन नपाइने सहमति भएको होइन।'

'निर्माता संघले भनेको चलचित्र संघले मान्दैन। चलचित्र संघले भनेको विकास बोर्डले मान्दैन। विकास बोर्डले भनेको सरकारले मान्दैन। यो पुरानै कुरा हो।' चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्लेले भनेका छन्, 'अहिलेको परिस्थितिमा सबै जना मिलीजुली जानुपर्छ। यसमा विदेशी र नेपाली चलचित्र भन्ने कुरा आउँदैन।' 

गुणस्तरको आधारमा केही कमजोर भए पनि विषयवस्तुका आधारमा नेपाली फिल्म कमजोर नरहेको उनले बताएका छन्। 

'अहिले २/३ सय करोड लगानीमा बनेको पुष्पा फिल्म रिलिज हुँदैछ। कहाँ दुई÷तीन सय करोडमा बनेको विदेशी फिल्म कहाँ एक करोड नेपालीमा बनेको फिल्म, कसरी प्रतिस्पर्धा गर्न सक्छौँ।' उनले भनेका छन्, 'यो सिधै चेपुवामा परेको विषय हो। विदेशी चलचित्र सस्तोमा ल्याएर शो दिन्छन् र नेपाली चलचिलाई शो दिन्न्।'

'हामी कन्टेन्टअनुसार कम छैनौँ, क्वालिटीअनुसार हामी कमजोर छौँ। हामीले नेपाली भाषाको फिल्म भावानात्मक रूपमा बेच्न खोजेका होइनौँ।' 

नेपाली फिल्मले विदेशी फिल्मलाई पछि पारेको उदाहरण भएको तर यो बेला भनेको नेपाली फिल्मलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन्। 

लामो समय सुनसान रहेको नेपाली फिल्म उद्योग विस्तारै चलायमान हुने प्रयासमा छ। एकदमै संवेदनशील अवस्थामा रहेको नेपाली फिल्म उद्योग सरोकारवाला संघहरूमै बेमेल हुँदा यसको भविष्य नै अन्योलमा देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.