|

काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा उम्मेदवारी दिएकाहरूले आज उम्मेदवारी फिर्ता लिने तालिका छ। शनिबार उम्मेदवारी दिएकामध्ये फिर्ता लिनेलाई आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

त्यसपछि आचासहिंता लागू हुने निर्वाचन समितिले जनाएको छ। आचारसंहिताअन्तर्गत मतदानस्थलभन्दा ५०० मिटर वरपर कुनै उम्मेदवारको प्यानल वा भोट माग्ने नियतले पर्चा पम्पलेट वा कसैलाई प्रलोभनमा पार्ने किसिमका गतिविधि गर्न पाइने छैन।

तर, भृकुटीमण्डप तथा राष्ट्रियसभा केन्द्रमा विशेष गरेर शेरबहादुर  देउवा र  आरजू देउवा प्यानलका कार्यकर्ताहरूले आचारसहिंता उल्लंघन गर्दै भोट मागिरहेका छन्।

प्रहरीले लगातार माइकिङ गरिरहेर आचारसंहिता उल्लंघन नगर्न आग्रह गरेको भए पनि देउडा गाउँदै उनीहरूले भोट माग्दै गरेका हुन्।

निर्वाचन समितिका अनुसार उम्मेदवारी फिर्ताको समयवधि सकिएपछि आइतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ।

मतदानका लागि भृकुटीमण्डप‚ महेन्द्र पुलिस क्लब र राष्ट्रियसभा गृहमा व्यवस्था मिलाइने निर्वाचन समितिले जनाएको छ। मतदान मतपत्रमार्फत गर्नुपर्नेछ।

केन्द्रीय कार्यसमितिको १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ। महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.