|

जुम्ला : तिला गाउँपालिकाले बेरोजगार युवालाई रोजगारी दिने अभियान थालेको छ।

बेरोजगारीका कारण निराश बनेको युवा शक्तिलाई रोजगारी दिनकै लागि सहुलियत कर्जा सहजीकरण गर्न युवालाई उद्यमशीलता तथा वित्त साक्षरता तालिम दिएको छ।

गाउँपालिकाले युवालाई उद्यमी बनाउन सातदिने उद्यमशीलता तालिम दिएको छ। तालिममा गाउँपालिकाका १-९ वडाका १ सय ६८ जना युवा सहभागी भए।

गाउँपालिकाले युवासँग अध्यक्ष रोजगार कार्यक्रममार्फत पालिकाको आर्थिक विकास गर्न तालिम सञ्चालन गरेको हो।

पालिकाले दक्ष उद्यमी उत्पादन गरी कर्णाली प्रदेशकै समृद्धिमा परिचालन गर्ने तिला गाउँपालिकाका अध्यक्ष रतनथान योगीले बताए।

उनले भने, 'युवामा उद्यमशीलता विकास गरेर रोजगार बनाउने पालिकाको पहिलो लक्ष्य हो। युवा जनशक्तिलाई पालिकाभित्रै रोजगारीका अवसर सिर्जना गर्न राष्ट्रिय युवा परिषद, गाउँपालिका र  नविन बैंकको साझेदारीमा तालिम दिइएको हो।'

उनले युवाकेन्द्रित रोजगारीका कार्यक्रम ल्याउने तिला गाउँपालिका पहिलो गाउँपालिका भएको दाबी गरे।

अध्यक्ष योगीले सबै युवाको क्षमता, प्रतिभा, सीप, जोश, जाँगर विकासमा उपयोग गर्ने गरी कार्यक्रम सञ्चालन हुने बताउँदै भने, 'सबै युवाले साझा कार्यक्रम र गौरव महसुस गर्ने गरी कार्यक्रम सञ्चालन गरिन्छ।'

त्यस्तै पूर्वराज्यमन्त्री बलबहादुर महतले श्रम बजारको दायरालाई फराकिलो पार्दै रोजगारीका अवसरलाई प्रशस्त बनाइने बताए। 

युवालाई रोजगारीमा जोड्न गाउँपालिकासँग साझेदारी पत्रमा हस्ताक्षर गरेको नबिल बैंकले कुन क्षेत्रमा कति संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अध्ययनको तयारीमा लागेको बताएको छ।

'हामी युवाका लागि लगानी गर्न तयार छौं,' नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले  भने, 'यहाँका  युवालाई रोजगारीसँग जोड्न कार्यक्रम सार्वजनिक गर्छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.