|

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले आज गरेको सरकारी कार्यालयको छड्के अनुगमनमा दुई कार्यालयका प्रमुखसमेत अनुपस्थित रहेका पाइएको छ।

कृषि ज्ञान केन्द्र, शहरी विकास तथा भवन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नेपाल टेलिकममा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा कृषि ज्ञान केन्द्र र शहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरू अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

उनले भने, ‘छड्के अनुगमन गर्दा कार्यालय प्रमुखहरू नै बिनाजानकारी अनुपस्थित रहेको देखिए. उनीहरूलाई पहिलो चरणमा स्पष्टीकरण सोध्छौं, चित्तबुझ्दो  स्पष्टीकरण नआए कानुनी कारबाहीसम्म हुन्छ।’

जिल्लास्थित सरकारी कार्यालयहरूले प्रदान गर्ने सेवा प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयको नेतृत्वमा सरकारी कार्यालयमा छड्के अनुगमन शुरु गरिएको हो।

यसअघि सोमबारदेखि शुरु भएको अनुगमनअन्तर्गत ६ वटा कार्यालयमा अनुगमन गरिएको छ। सोमबार जिल्ला हुलाक कार्यालय, जिल्ला मालपोत कार्यालय र नापी कार्यालयमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालयमा दुईजना र जिल्ला मालपोत कार्यालयका एक कर्मचारी बिनाजानकारी अनुपस्थित भएको पाइएको थियो। उनीहरूलाई पनि स्पष्टीकरण सोधिएको छ।

सार्वजनिक सेवालाई प्रभावकारी, जवाफदेही र जनमुखी बनाउन अनुगमन शुरु गरिएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.