|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा ज्ञानेन्द्र शाहसँग गरेको गरेको पाँच बुँदे सहमति प्रमाणित गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिएका छन्।

हिजो पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्ड अस्थिरताको पर्याय भएको र २०६० साल तिर तत्कालिन राजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति गरेको आरोप लगाएका थिए। त्यसको खण्डन गर्दै प्रचण्डले  ओलीलाई यस्तो चुनौति दिएका हुन्। 

यस्तो छ प्रचण्डको विज्ञप्ती  

दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुुनः प्रमाणित गरेका छन्।

पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्। म केपी ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु।

साथै माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु।

आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.