|

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दुई अपराजित टीम मच्छिन्द्र फुटबल क्लब र संकटाले आफ्नो अपराजित यात्रालाई पाँचौँ खेलसम्म जारी राखेका छन्। शुक्रबार दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा दुबै टीमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा दुबै टीमले आक्रामक खेल खेले पनि गोल भने गर्न सकेनन्। दुई छिमेकी क्लबबिच खेल प्रतिस्पर्धात्मक बन्दा दुबैले अन्तिम समयसम्म गोलका लागि प्रयास गरेका थिए।

८२ औँ मिनेटमा फोडे फोफानाले गरेको उत्कृष्ट प्रहार बारभन्दा केही इन्चबाट बाहिरिँदा संकटा तीन अंक लिनबाट चुकेको थियो। त्यस्तै ८८ औँ मिनेटमा विशाल श्रेष्ठले सानदार हेड गरे पनि फ्रेममा राख्न नसक्दा संकटाले अर्को मौका गुमाएको थियो।

त्यसअघि दोस्रो हाफमै मच्छिन्द्रले गोल गरे पनि मान्यता पाउन असफल रह्यो। ६१ औँ मिनेटमा सुनिल बलको क्रसलाई मनीष डाँगीले गोल गरे पनि उक्त बललाई अफसाइड घोषित गरिएको थियो। उक्त निर्णयमा मच्छिन्द्रका खेलाडी तथा अफिसियलले चर्को असन्तुष्टि देखाएका थिए।

त्यसअघि खेलको पहिलो हाफमा प्रतिस्पर्धात्मक देखिएको खेलमा संकटाले सुरुवातमै गोलको सानदार मौका चुकायो। पहिलो मिनेटमै फोडे फोफनले मध्यभागबाट लगेको बल वान भर्सेस वानमा गोलरक्षक विशाल श्रेष्ठले बचाउँदा मच्छिन्द्रको संकट टरेको थियो।

२१ औँ मिनेटमा मच्छिन्द्रले गोलको राम्रो मौका पाएको थियो। विशाल राईले गरेको शक्तिशाली प्रहार अफ टार्गेट हुँदा संकटा गोल खानबाट जोगिएको थियो। पहिलो हाफको अन्ततिर मच्छिन्द्र र संकटाले केही मुभ बनाए पनि गोल गर्न सकेनन्।

बराबरीपछि पनि मच्छिन्द्र शीर्ष स्थानमा कायम रह्यो। मच्छिन्द्रले पाँच खेलबाट ११ अंक बनाउँदा संकटा भने चौथो स्थानमा उक्लिएको छ। उसको आर्मी समान ९ अंक रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.