|

नवलपुर : पूर्व नवलपरासीको उत्तरी भेगमा पर्छ, बुलिङटार गाउँपालिका। महाभारत श्रृङ्खलाअन्तर्गत समुद्री सतह देखि १९३६ मिटरमा पर्ने देवचुली डाँडाको काखमा यो गाउँ अवस्थित छ। बुलिङटार गाउँपालिका-४ मा पर्छ।

मगर जातिको बाहुल्य रहेको यो सुन्दर गाउँमा २०७३ सालमा घरबास (होमस्टे) शुरु गरिएको हो। गाँउकै नाम र मगर समुदायलाई जोडेर ‘चुलीबोझा मगर सामुदायिक होमस्टे’ नाम दिइएको छ । 

पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको दुरीमा उत्तरतर्फ लागेपछि चुलीबोझा पुग्न सकिन्छ। मगर होमस्टेमा मगर समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, स्थानीय क्षेत्रमा उत्पादित कोदोको ढिँडो, लोकल कुखुरा र सिस्नुको अचारको स्वाद लिन पाइन्छ। होमस्टे अन्तर्गत यहाँ पाहुनाका लागि १३ वटा घर छन्। ​होमस्टेमा तीन बटा हलकोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्ने व्यवस्था  रहेको होमस्टे सञ्चालक हेमलाल बरालले जानकारी दिए।

चुलीबोझामै उत्पादन भएको कोदो, मकै, फापरको ढिँडो, लोकल कुखुराको मासु, दाल, सिस्नो, अमिलो, सुन्तला, केरा, तरुल , पिँडालु, भट्ट र गहत लगायतका गेडागुडीको परिकारले पाहुनाको स्वागत गरिन्छ। मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्न मगर समुदायमा चर्चित करुवा नाच र झाम्रे नाच देखाइन्छ ।

चुलीबोझामा रहेको होमस्टेबाट देवचुली र वरचुली डाँडा, उत्तरतर्फ धौलागिरी , माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य धौवादीको फलामखानीको डाँडासमेत अवलोकन गर्न सकिन्छ। 

 मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.