|
लण्डनस्थित चेल्सी फुटबल क्लबको रंगशालामा कोभिड-१९ को खोप लगाइँदै। एपी

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ८९ देशमा ओमिक्रोन भेरियन्टको संक्रमण फेला परेको जनाएको छ।

सामुदायिक स्तरमा संक्रमणको फैलावट उच्च भएको ठाउँमा डेल्टा भेरियन्टभन्दा यो छिटो फैलिएको पनि डब्लुएचओले जनाएको छ। यसको संक्रमण डेढदेखि तीन दिनमा दोब्बर हुन्छ। डब्लुएचओको बयानपछि ओमिक्रोनलाई लिएर विश्वभर त्रास फैलिएको छ।

विश्व स्वास्थ्य संगठनले शुक्रबार आफ्नो 'ओमिक्रोनका लागि तयारी बढाउँदै: सदस्य राष्ट्रहरूका लागि प्राविधिक संक्षिप्त र प्राथमिकता कार्य' प्रतिवेदन जारी गर्‍यो। हालको उपलब्ध तथ्याङ्क विश्लेषण गर्दा सामुदायिक तहमा संक्रमण फैलिने ठाउँमा ओमिक्रोनले डेल्टालाई उछिनेको उसको भनाइ छ।

जति धेरै तथ्यांक उपलब्ध हुन्छ त्यति धेरै ओमिक्रोन भेरियन्टबारे बुझाइ स्पष्ट हुँदै जाने संगठनको भनाइ छ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन डेल्टा भेरियन्टभन्दा छिटो फैलिने पर्याप्त प्रमाण रहेको बताएको छ। समुदायस्तरमा फैलिएका देशहरूमा यो डेल्टा भेरियन्टभन्दा तीव्र गतिमा फैलिरहेको छ। यसको संक्रमण डेढदेखि तीन दिनमा दोब्बर हुने संगठनले स्पष्ट पारेको छ।

सबैभन्दा संक्रामक देखिएको ओमिक्रोनबाट सुरु भएको कोभिड–१९ को सम्भावित नयाँ लहरबाट बच्न युरोपका विभिन्न देशले कडा प्रतिबन्ध लगाएका छन्। 

प्रतिबन्धपछि फ्रान्सदेखि स्पेनसम्मका मानिसले विरोध गर्न थालेका छन्। यो महामारीको तीव्र वृद्धिका बीच सतर्कता अपनाएका फ्रान्स र अस्ट्रियाका मन्त्रीहरूले यात्रा प्रतिबन्ध कडा बनाएका छन्।

फ्रान्सले नयाँ वर्षका लागि आतिशबाजी रद्द गरेको छ। डेनमार्कले थिएटर, कन्सर्ट हल, मनोरञ्जन पार्क र संग्रहालयहरू बन्द गरेको छ।

आयरल्याण्डले पब र बार राति ८ बजे बन्द गर्न आदेश दिएको छ। घरभित्र र बाहिर आयोजना गरिने दुवै खालका कार्यक्रमम कम सहभागी उपस्थित हुन आदेश दिएको छ।​

आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले शुक्रबार आफ्नो सम्बोधनमा संक्रामक भाइरसबाट जीवन र जीविकोपार्जनलाई जोगाउन नयाँ प्रतिबन्ध आवश्यक रहेको बताएका थिए।

नेदरल्याण्ड्सका मन्त्रीहरूले विज्ञ समितिको सल्लाहमा पहिले नै चलिरहेको आंशिक तालाबन्दीलाई कडा बनाउन सिफारिस गरेका छन्।

बेलायत सरकारले भवनहरूभित्र पनि मास्क लगाउन अनिवार्य गरेको छ। रात्रि क्लब र कार्यक्रममा सहभागी हुने व्यक्तिले खोप वा कोभिड परीक्षण गरेको भर्खरको नेगेटिभ रिपोर्ट देखाउन आदेश दिएको छ।

यो साता दैनिक संक्रमण निकै तीव्र गतिमा बढेको छ। सरकारले अस्पतालहरूमा भीडभाड रोक्न थप कदम चाल्न आवश्यक भएको वैज्ञानिकले चेतावनी दिएका छन्।

विज्ञहरूले खोपको दुई मात्रा लगाएका व्यक्तिमा पनि ओमिक्रोनविरुद्ध कम प्रभावकारी भएको सुझाव दिएपछि बेलायत र अन्य देशहरूले बुस्टर मात्रा दिन हतार गर्न थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.