|

सल्यान : समाजमा आपराधिक तथा अप्रिय  घटना नियन्त्रण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानले टोल सुधार समिति अभियान सञ्चालन गरेको छ।

प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुने आपराधिक घटनामा कमी ल्याउने उद्देश्यका साथ टोल टोलमा पुगी समिति गठन गर्न अभियान सञ्चालन गरिएको हो।

सबै खाले आपराधिक घटना तथा घरेलु हिंसा न्यूनीकरण गर्न प्रहरी र नागरिकबिच सहकार्यका लागि टोल सुधार समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले बताए।

उनका अनुसार समाजमा हुने घटनामा कमी ल्याउन र यदि भइहाले पनि बाहिर ल्याउन र पीडितलाई न्याय दिलाउन सकोस् भन्ने सोचका साथ टोल सुधार समिति गठन गरिएको छ।

उनले भने‚ ‘दीर्घकालीन रूपमा हेर्दा बेरोजगारी, अशिक्षा र अल्पकालीन रूपमा मदिराका कारण समाजमा आपराधिक क्रियाकलाप बढी रहेको देखिएपछि त्यसको नियन्त्रण गर्न समिति गठन गरिएको हो।’

यही पुस २० गतेसम्म जिल्लाका सबै टोलमा पुगी प्रहरीले टोल सुधार समिति गठन गरी सक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

उक्त समितिले प्राकृतिक विपद् देखि आपराधिक क्रियाकलाप नियन्त्रण तथा न्यूनीकरण गर्ने प्रहरीको भनाइ छ। एक टोलमा १० सदस्यीय समिति हुने कार्यालयले जनाएको छ।

जिल्लामा प्रहरीका ३८ युनिट रहेको र उक्त ३८ वटै युनिट अहिले गाउँबस्तीमा पुगी टोल सुधार समिति गठन गरिरहेको प्रहरी प्रमुख खड्काले बताए।

उनले भने‚ ‘प्रहरीले मुख्यतया तीन काम गर्छ। पहिलो अनुसन्धान जो प्रहरीले मात्र गर्छ। दोस्रो सुरक्षा र तेस्रो सचेतनामूलक कार्यक्रम। तेस्रो कार्यक्रमअन्तर्गत गाउँठाउँमा पुगी जनचेतना अभिवृद्धि गरिरहेका छौं।’

प्रहरी गाउँगाउँमा गई नागरिकमैत्री कार्यक्रम सञ्चालन गर्न सके प्रहरी र नागरिक बिचको सम्बन्ध अझ बलियो हुने बागचौर नगरपालिका– ५ की वडासदस्य लक्ष्मी विकले बताइन्। समुन्नत समाज निर्माण गर्न समुदाय र प्रहरीको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.