|

जुम्ला : हिमाली जिल्ला जुम्लामा यतिबेला बिहानको तापक्रम करिब माइनस ६ डिग्री सेल्सियस पुग्‍न थालेको छ। चिसो बढ्दै जाने क्रममा यहाँको तापक्रम अझै घट्न गई माइनस १५ डिग्रीसम्म पुग्‍ने गर्दछ।

चिसो बढ्दै जाँदा यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। ग्रामीण भेगसम्म विद्युतको पहुँच नपुग्दा पानी तताएर प्रयोग गर्ने विकल्प पनि यहाँका अधिकांश स्थानीयवासीलाई छैन। दैनिक व्यावहारिक प्रयोगका लागि चिसै पानी प्रयोग गर्दै आएका यहाँका स्थानीयहरूको नुहाउनका लागि एउटै विकल्प हो जुम्लाको तातोपानी। जहाँ तातोपानी धारामा नुवाउनका लागि २० देखि ३० रुपैयाँ शुल्‍क तिर्नुपर्छ।

पुस लागेसँगै तातोपानी धारामा नुवाउन आउनेको संख्या बढेको छ। यसधारामा नुहाउन आउने मानिसहरूको व्‍यस्थापनका लागि तातोपानी पर्यटक व्‍यवस्थापन समिति बनाइएको छ।

तातोपानी नुवाउनका लागि दैनिक १५०  जनाभन्दा बढी मानिसहरू आउने गरेका समितिले जनाएको छ। यसरी आउने मानिसहरूबाट मासिक ६० हजारसम्म जम्मा हुने गरेको समितिले जनाएको छ। उठेको रकमबाट तीनजना कर्मचारीलाई २५ हजार तलबबापत छुट्याइने र बाँकी रकम समितिकै खातामा जम्मा हुने गरेको कर्मचारी छकबहादुर बुढाले बताए। उनले भने, 'महिनामा ४० देखि ६० हजार शुल्कबाट आम्दानी हुन्छ। तातोपानीमा नुवाउनका लागि कहिलेकाहीँ एकैदिन १५० जनासम्म आउँछन्।'

तातोपानीमा नुहाउँदा विभिन्‍न प्रकारका रोग निको हुने विश्वाससमेत कतिपयको पाइन्छ। सिजा गाउँपालिका-१ की ५६ वर्षीया खुमेनी दमाईले आफूँलाई ढाड र खुट्टाको जोर्नी दुख्‍ने समस्या रहेको र तातोपानी धारामा नुहाउँदा सञ्‍चो भएको बताइन्।

महिलाका लागि असुरक्षि

तातोपानीमा नुहाउन र कपडा फेर्नका लागि महिलाहरूका लागि सुरक्षित स्थान नभएको स्थानीयको गुनासो छ। चन्दननाथ नगरपालिका-५ की सुस्मिता कठायतले भनिन्, 'महिलालाई नुहाउने धरामा पुरुष पनि सँगै हुँदा अप्ठेरो लाग्छ।'

तातोपानी धारामा नुहाउनका लागि महिला र पुरुषलाई छुट्टाछुट्टै धाराको व्‍यवस्थापन गाउँपालिकाले गर्नुपर्ने उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.