'सभामुखको काम संवैधानिक छ, संसद् अवरोधको तुक छैन'

|
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्।

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन्।

उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावनाविपरीत नभएको भन्दै अहिले संसद् अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे।

अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताए।

अध्यक्ष दाहालले भने, ‘अदालतको फैसला छ, ह्वीप लाग्दैन भन्ने फैसला छ। अनि सभामुखले १५ दिन भित्र उहाँले लिनुपर्ने निर्णय १३ दिनकै दिन लिनुभएको छ। त्यहाँ कहीँ कतै ऐनको उल्लंघन पनि छैन। संविधानको मर्म र भावनाको उल्लंघन पनि छैन।'

उनले अगाडि थपे, 'निर्वाचन आयोगले मान्यता दिएको छ। अदालतले निर्णय गरिदिएको छ। संसदले स्वीकार गरेको छ। ५ दलीय गठबन्धन बनेर सरकार चलिरहेको छ। त्यो कुरालाई अस्वीकार गर्ने जो भनिएको छ यसबाट पनि उहाँको प्रवृत्ति भनेको बिल्कुल लोकतन्त्रविरोधी निरंकुश हो भन्ने कुरा प्रष्ट नै देखिन्छ।’

अध्यक्ष दाहालले संसद् अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताए। उनले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसिसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दाबीसमेत गरे।

अध्यक्ष दाहालले ओलीले संसद अवरुद्ध गरेर विधेयकहरु पारित हुन नदिने षड्यन्त्रमा लागेको दाबी गरे।

अध्यक्ष दाहालले भने, ‘उहाँले तर्क राख्नुभएको हामीले सुनेका छौँ। गठबन्धन टुट्छ भने उहाँले नेपाली काँग्रेसलाई एकलौटी सरकार बन्न दिने। गठबन्धन टुट्ने हो भने एमसिसी पास गर्न सहयोग गर्ने। उहाँले खुलेआम दिएको तर्क हो यो। अर्कोतिर सदन चल्न नदिएर कुनै पनि विधेयकहरु परित हुन नदिने डिजाइन। यो सबै प्रतिगमनकै निरन्तरतामा उहाँ हुनुहुन्छ। उहाँ प्रतिगमनकारी तरिकाले अघि बढ्नुहुन्छ भने हामी संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाएर अरु शक्तिलाई पनि आफ्नो वरिपरि गोलबन्दी गरेर प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्ने गरी प्रस्तुत  हुन्छौँ।’

अध्यक्ष दाहालले गठबन्धन सरकारले ओली प्रवृत्तिलाई सफल हुन नदिने भन्दै ओली प्रतिगमनकारी तरिकाले अघि बढे संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाउने समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.