|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–७, बेनी सामुदायिक माविको छेवैमा रहेको करिब १ सय वर्ष पुरानो पिपलको रुख मासेर ब्यापारिक सटर बनाइएको छ।

बेनी बजार विस्तारसँगै विसं १९९७ मा भट्टचन थर गरेका एक ब्यक्तिले हिन्दुहरूले भगवान् विष्णुको अवतार मानेर पूजा गर्ने र वातावरणीय र धार्मिक महत्व रहेको पिपल बटुवालाई लक्षित गरी रोपेका थिए। पिपलको रूख रातारात हटाउन खोज्दा सबैतिरबाट चर्को विरोध भएको थियो।

सर्वसाधारणलाई पैदल र सवारीसाधनबाट आवतजावतका साथै विद्यालयको पार्किङ्गस्थलका लागि रुख काटिएको वडाका जनप्रतिनिधिले दावी गरे। घाम चर्किंदा र पानी पर्दा ओत लाग्ने सानो प्रतिक्षालय जस्तै बनेको पिपलको रुख मास्ने कार्य नरोखिएको भन्दै चौतर्फी विरोधलाई बेवास्ता गर्दै नगरपालिकाले आन्तरिक आम्दानीको नाममा मनलाग्दी तरिकाले सटर भाडा दिएको छ।

अस्थायी टंकी राख्ने गरी सम्झौता गरी प्रति हात रू ६ सय भाडा तिरेका ब्यापारीले सम्झौता विपरित शक्ति र पहुँचको आडमा पक्की संरचना बनाउँदा समेत नगरपालिका मौन बसेको छ।  

नगरपालिकाले वडा नं ७ र ८ वडाभित्र बढ्दो सहरीकरणले ब्यस्त सडक सहित खाली रहेको स्थानहरू पार्किङसहित सार्वजनिक हितका लागि प्रयोग हुनुपर्ने ठाउँ खाली देख्दा बित्तिकै भाडामा दिने गरिएको छ। 

बजारभित्र सार्वजनिक स्थानमा वडाका जनप्रतिनिधिको अगुवाइमै भाडामा लगाउने गरिएको छ। दैनिक लाखभन्दा बढी करोबार गर्नेहरूले समेत सस्तोमा बस्न पाएपछि सार्वजनिक जग्गामा अस्थायी संरचना हालेर ब्यवसाय गर्ने होडबाजी नै चलेको एक स्थानीयले बताए। 

‘विपन्नलाई जिविकोपार्जनका लागि बनाइएका संरचनाहरूमा ब्यापारीको नजर परेको छ,‘नगरलाई समेत जानकारी नदिई पक्की संरचना समेत बनाउन थालेका छन्’ टंकीमा ब्यवसाय गरेकी एक महिलाले भनिन्। उनका अनुसार भाडामा दिइएका संरचनाा समेत नगरपालिकासँग कुनै समन्वय नगरी कंक्रिट ठड्याउने, महंगोमा खरिद–बिक्री समेत हुने छ। जिल्लाको प्रमुख प्रशासनीक क्षेत्र बिरेन्द्रचोक, पुस्तकालय चोक आसपास तथाकालिपुल बसपार्कमा सार्वजनिक जग्गामा बनाइएको संरचना प्रयोग गरेबापत ब्यापारीले प्रति हात ६ सयदेखि ११ सयसम्म तिर्ने नगरपालिकाले जनाएको छ। 

बजारभित्र टंकी, ठेलासहित ६० वटा अस्थायी संरचनालाई मासिक भाडामा तिर्ने गरी प्रयोग गर्न दिइएको छ। गत साता सदरमुकामलाई ब्यवस्थित र सुन्दर बनाउन सरोकालाहरु बिच भएको छलफलमा प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले भाडामा दिइएको संरचनालाई आवश्यकता अनुसार हटाउन सकिने बताएका थिए। 

नगरपालिकाले नै भाडामा दिएका संरचनाहरू बेनीबजारलाई सुन्दर र ब्यवस्थित बनाउन बाधन बनेको भन्दै नगरको आम्दानीको नाममा पार्किङ तथा सार्वजनिक महत्वको स्थान नै अतिक्रमणले खुम्चिएको सरोकारवाला निकायका प्रतिनिधिले चर्को गुनासो गरेका थिए। ‘खाली ठाउँमा सटर हालेर आम्दानी गर्ने प्रबृत्तिले समस्या भएको छ, ‘ट्राफिक ब्यवस्थापनमा निकै समस्या भयो’ प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले भने। 

उनले यस्ता अनेकन समस्याका कारण एकतर्फी पार्किङ्ग सहितको अभियान नै प्रभावकारी बनाउन असहज भएको बताए ।  सार्वजनिक स्थललाई नगरपालिकाले कमाइको भाँडो बनाइरहेको भन्दै आलोचना समेत भएको थियो। सार्वजनिक ठाउँलाई ब्यापारिक प्रयोजनका लागि प्रयोग गर्दा बढ्दो सहरीकरणले बजारभित्र पानी पर्दा ओत लाग्ने एउटा प्रतिक्षालयका लागि समेत ठाउँ छैन्। 

बेनी सामुदायिक विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले सटर र आसपासमा राखिएका ठेला ब्यवसायीका कारण बेनी सामुदायिक माविमा अध्ययनरत विद्यार्थीलाई प्रवेशमा ठूलो समस्या भएको बताए।

‘विद्यार्थीलाई हिड्न अप्ठेरो भएको छ,‘विद्यालयको समस्यामा सरोकारवाला निकाय मुकदर्शक बनेको छ’ प्रअ श्रेष्ठले भने। विद्यालयको प्रवेशद्धारमा ठेला, सटर हाल्ने, सवारीसाधनको पार्किङलाई हटाउन पटक–पटक नगरपालिका, प्रशासन लगायतका सरकारी निकायलाई ज्ञापनपत्र समेत बुझाएपनि बास्ता नगरिएको प्रअ श्रेष्ठको भनाइ छ।

बेनी बजारमा विभिन्न ब्यवसाय गरेका व्यवसायीले घरभन्दा बाहिर जस्तापाता राखेर सडक ढाक्ने गरी सामानहरु झुन्ड्याउने कार्य हटाउनका लागि दिइएको एक हप्ताको सूचना बुधबार सकिदै छ।

बेनी नगरपालिका आयोजनामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, म्याग्दी उद्योग वाणिज्य, ट्राफिक कार्यालय विच ७ र ८ वडामा पर्ने सदरमुकामलाई सुन्दर बनाउन ब्यवस्थित पार्किङ, फराकिलो बाटो, सार्वजनिकस्थलमा सरसफाई, सिसी क्यामरा, लगायतलाई ब्यवस्थित बनाउन पटकपटक भएका छलफल र सार्वजनिक प्रतिबद्धता कार्यान्वयन नहुदाँ बजार लथालिङ्ग भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.