|

सल्यान : आर्थिक अभावले उपचारबाट बञ्चित हुन नदिन सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम सल्यानमा प्रभावकारी नदेखिएको पाइएको छ। संघीय सरकारले तामझामसहित सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अधिकांशलाई जानकारी नहुँदा प्रभावकारी बन्न नसकेको हो।

विश्वभर फैलिएको कोरोना महामारीका कारण सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा सल्यानमा मात्र नभई देशभर प्रभावकारी नदेखिएको स्वास्थ्य बिमा कार्यक्रम सल्यानका जिल्ला संयोजक लालबहादुर खड्काले बताए।

उनले भने, ‘कार्यक्रम सञ्चालन गरेको केही महिनापछि नै कोरोनाका कारण लकडाउन भयो जसका कारण लक्षित समुदायलाई बिमाको बारेमा जानकारी गराउन पाइएन।’

एक वर्षको अवधिमा जिल्ला ६ हजार २ सय जनाले मात्र स्वास्थ्य बिमा गराएको खड्काको भनाइ छ। लकडाउन खुलेसँगै सल्यानका ८३ वटै वडामा कार्यरत दर्ता सहयोगी गाउँ गाउँमा पुगेको र पालिका स्तरमा अभिमुखीकरण गरेपछि बीमितको संख्यामा वृद्धि आउनेको उनको विश्वास रहेको छ। बिमा संस्थाले मात्र भन्दा पनि सरकारले सरकारी स्वास्थ्य सेवा सुधार गर्नु पर्ने उनको भनाइ छ।

आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सरकारले बिमा कार्यक्रम ल्याएको तर्क गर्दै उनले सरकारी स्वास्थ्य सेवा प्रभावकारी भए स्वास्थ्य बिमाप्रति नागरिकहरु पनि आकर्षित हुने खड्काले बताए।

वर्षको तीन हजार पाँच सय रुपैयाँ तिरेपछि परिवारका पाँच जनाले एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउँछन्। पाँच जनाभन्दा बढी सदस्य भएका परिवारको हकमा भने प्रतिव्यक्ति सात सय रुपैयाँ बिमा थप तिर्नुपर्छ। बिमा गरे पनि जुनसुकै अस्पताल वा स्वास्थ्य संस्थामा निःशुल्क उपचार भने हुँदैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.