|

हेटौंडा : बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरुको अनुपस्थितिमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दिएको जवाफलाई नमान्ने बताएको छ।

बिहीबार बसेको दोस्रो बैठकमा मुख्यमन्त्री पाण्डेले संसदमा एमालेले उठाएका प्रश्नको जवाफ दिएका थिए।

तर, प्रदेशसभा बैठकमा उपस्थित नभएको एमालेले मुख्यमन्त्रीले दिएको जवाफलाई अस्वीकार गर्दै सभामुखप्रति असन्तुष्टि जनाएको छ।

थाहाखबरसँग प्रतिक्रिया दिँदै एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले अर्को सूचना नआएसम्मका लागि संसद स्थगित गरेको केही समयमा नै पुनः संसद राखेर सभामुखले एमालेविरुद्ध काम गरेको आरोप लगाए।

‘अर्को सूचना नआएसम्मका लागि संसद स्थगित भएपछि हाम्रा साथीहरु आ–आफ्नो घरतिर लाग्नुभयो। तर, बाटोमा पुगिसकेपछि पुनः संसद राखेको सूचना आयो। प्रतिपक्षीसँग छलफल नगरि, कार्यव्यवस्था परामर्शको बैठक नै नराखी के आधारमा फेरि बैठक बोलाइयो ?’ उनले प्रश्न गरे।

निरौलाले सभामुखले बिहीबार स्थगित भइसकेको संसद फेरि बोलाएकाले आगामी दिनमा संसद चलाउन सभामुखलाई अप्ठेरो पर्न सक्ने चेतावनीसमेत दिए।

‘आज जुन ढंगले सभामुखले बैठक सञ्चालन गर्नुभयो, त्यसले उहाँलाई आगामी दिनमा संसद चलाउन गाह्रो पर्न सक्छ’,उनले भने। 

निरौलाले आफूहरुको अनुपस्थितिमा मुख्यमन्त्रीले दिएको जवाफ नमान्ने भन्दै जबसम्म मुख्यमन्त्रीले एमालेलाई चित्तबुझ्दो जवाफ दिने र माफी माग्ने काम गर्दैनन् तबसम्म सदन चल्न नदिने चेतावनी दिए।

उनले बिहीबार बिहान बैठक बोलाएर मुख्यमन्त्री अनुपस्थित भएको र एमालेको सांसदहरु गइसकेपछि स्थगित भएको बैठक पुनः राखेर दिएको जवाफ नमान्ने बताएका हुन्।

उनले मुख्यमन्त्री पाण्डेले धादिङमा बोल्ने क्रममा दिएको अभिव्यक्तिबारे संसदबाट माफी नमागेसम्म संसदका कुनै पनि कामकारबाही सञ्चालन हुन नदिने चेतावनी निरौलाले दिए। 

बुधबार बसेको प्रदेशसभा बैठकमा एमाले सांसद तथा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै आफ्नो सरकारले ल्याएका योजना फिर्ता हुनुपर्ने र मन्त्रालय विभाजनको औचित्य पुष्टि हुने गरि मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए।

पौडेलले समय माग गरेर बोलिसकेपछि एमालेका सांसदहरुले रोष्टमबाट उठेर अवरोध गरेका थिए।

एमालेको अवरोधपछि सभामुखले प्रदेशसभा बैठक बिहीबार बिहान ११ बजेका लागि राखेका थिए।

तर, निर्धारित समयभन्दा केही ढिला गरि बसेको बिहीबार बिहानको बैठकमा पनि मुख्यमन्त्री उपस्थित नभएपछि आफूहरुले उठाएको जवाफ नआएसम्म संसद चल्न नदिने भन्दै एमाले सांसदहरुले अवरोध गरेका थिए।

उनीहरुको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेका थिए।

बैठक स्थगित भएलगत्तै प्रदेशसभा पुगेका मुख्यमन्त्री पाण्डेले सभामुखसँग लामो छलफल गरेर बैठक राख्न आग्रह गरेका थिए।

मुख्यमन्त्रीको आग्रहपछि सभामुखले बिहीबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका थिए।

तर, आफूहरु उपस्थित हुँदा प्रतिपक्षीलाई बेवास्ता गरेर मुख्यमन्त्री नआएको र स्थगित भइसकेको बैठक पुनः बोलाएको भन्दै एमाले बैठकमा अनुपस्थित रहेको थियो। 

एमाले अनुपस्थित रहेपछि सभामुख श्रेष्ठले मुख्यमन्त्री पाण्डेलाई जवाफ नदिन रुलिङ गरेका थिए। तर पनि मुख्यमन्त्री पाण्डेले संक्षिप्तमा जवाफ दिएका थिए।

बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विषयगत समितिहरुले गरेको निर्णयको प्रतिवेदन पेस गरिएको थियो।

प्रदेशसभाको अर्को बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.