|

पर्सा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र विकासको लागि नभई स्वार्थको लागि वर्तमान गठबन्धन सरकार बनेको बताएका छन्।

पर्साको जगरनाथपुर गाउँपालिकामा भएको सन्देश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिहीवार यस्तो बताएका हुन्।

मुलुकको गुमेको भूमि फिर्ता ल्याउने लक्ष्यसहित नक्सा बनाएर थालिएको प्रकृयामा स्वार्थपूर्ण ढंगको बनेको सरकारले केही पहल गर्न नसक्ने उनले दाबी गरे। त्यो भूमि फिर्ता ल्याउन पनि एमाले पार्टीको सरकार नबनी नहुने उनको भनाइ छ।

सीमा नजिक भारतले बनाएको बाँधको कारण मधेशमा हुने डुवान कम गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले भारत गएको समयमा कुरा गरेकाले पछिल्ला वर्ष मधेशमा डुवान कम भएको अध्यक्ष ओलीले दाबी गरे।

मुलुकको समृद्धि र विकासको थालनीका रुपमा एमालेले केही काम गर्न थालेको मात्र भन्दै त्यस्ता प्रगतिशिल कामको निरन्तरतामा एमालेलाई जिताउन पर्ने उनले बताए।

जनता आवास कार्यक्रम जेष्ठ, अपांगता र एकल महिलालाई भत्ता, हुलाकी सडकको निर्माण र पर्सा बारामा टोर्नाडो पीडितका ८ सय ७९ वटा घर केही महिना भित्रमा सम्भव भएको पनि एमाले पार्टीको नेतृत्वमा रहेको सरकारको कारण भएको उनले बताए।

‘एमालेको सरकार हटेपछि आयात बढेको छ। बैंकमा जाँदा पैसा छैन। फेरि नेपाल गरिबीतर्फ फर्कन थालेको छ’ उनले भने,‘अहिलेको सरकार जनताले बनाएको सरकार होइन।

जनताले हराएको दलहरूको स्वार्थपूर्ण ढंगको गठबन्धन सरकारले केही गर्न नसक्ने भएकोले चाँडो अर्को निर्वाचनमा गई एमालेलाई जिताएर पठाउनुपर्छ।’ सो अवसरमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासहित थुप्रैको संख्यामा एमालेमा प्रवेश गरेका छन्। अध्यक्ष मिया नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.