|

म्याग्दी : उत्तरतर्फ हात फैलाउँदा छोइन्छ की झैं नजिकै देखिने धवलागिरी, निलगिरी, गुर्जा लगायतका आधादर्जन बढी हिमश्रृखला। पूर्वतर्फ मोहडा भएको टोड्के हिल रिसोर्टको माथिल्लो पट्टी भिरालो जमिनमा मौलाएको मुला खेती। 

हिमाललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्न र टिकटक बनाउन झुम्मिएका आन्तरिक पर्यटक। यतिबेला म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा यस्तै रोमाञ्चक दृश्य देख्न पाइन्छ।​ टोड्केमा पछिल्ला तीन वर्षयता मुला खेती राम्रैसँग मौलाउँदै गएको छ। यहाँका स्थानीयबासीले स्थानीय जातको सेतो र रातो रङको मुला लगाउँदै आएका छन्। 

उनीहरुले आफ्ना बाबु–बाजेको पालादेखि लगाउँदै आएको मुला खेतीलाई अहिले पनि निरन्तरता दिएका हुन्। यहाँ जम्मा पाँच घरधुरीको बसोबास रहेको छ। यिनै पाँच परिवारले उत्पादन गरेको मुला नेपालका विभिन्न शहरमा मात्रै होइन धजरा, गुन्द्रक, चाना र सुकुटी बनेर  कोशेलीको रुपमा युरोप अमेरिकासम्म पनि पुगेको स्थानीय कृषक तीजमाया पाइजाले बताइन्। 

टोड्केवासीको मुख्य पेशा मुला तथा आलुखेती रहेको छ। स्थानीयले मुला, आलु, र फापरको साथमा भेडापालन गर्दै आएका छन्। भैंसी र भेडाको मल हालेर उत्पादन गरिने हुँदा लोकल मुला खोज्दै ग्राहकहरु किन्न आउने गरेको पाइजाको भनाइ छ। उनका अनुसार एक परिवारले एक सिजनमा उत्पादित मुला बेचेर झण्डै एकलाख रुपैयाँ आम्दानी गर्दछन्।

हिमालको सम्मुख, चिसो हावापानी, अर्ग्यानिक स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाएको हो। टोड्के धौलागिरि क्षेत्रमै मुला खेतीका लागि प्रसिद्ध मानिन्छ। जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ। पछिल्लो समय टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि मुला खेती पनि पर्यटकको आकर्षण बनेको हो।

टोड्केका स्थानीयले विषादीरहित मुला उत्पादन गर्दै आइरहेका छन्। परम्परागत खेती प्रणाली अपनाएर मुला लगाउँदै आएका छन्। भैंसी र भेडाको मलको प्रयोग गर्ने गरेका छन्। हिउँद र वर्षामा गरि वर्षमा दुई पटकसम्म मुला खेती गर्न सकिन्छ। तर टोड्केमा एकै सिजनमा उत्पादित मुला वर्ष दिनसम्म खान पुग्छ।
आफूहरुले बाजेको पालादेखि नै स्वर्गद्वारीबाट मुलाको बिउ लिएर लगाएको र अहिले पनि ३ रोपनीमा मुला खेती गरेको मुला व्यवसायी समेत रहेकी महिला उद्यमी तीजमाया पाइजाको भनाइ छ। 

मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई ५० र सानालाई २५ रुपैयाँका दरले गोटाअनुसार बिक्री वितरण गर्ने गरिएको छ। मुलासँगै आलु लगायतका खेतीबालीमा विषादी प्रयोग नगरी अर्गानिक खेती गर्ने गरेको टोड्केवासीको भनाइ छ। विषादी प्रयोग नगर्दा उत्पादन राम्रो तथा गुणस्तरीय हुने भएकाले अर्गानिक मुलाको खेती गर्ने गरिएको छ। 

ग्राहकहरु स्थानीय जातको मुला खोज्दै किसानको बारीमा नै पुग्ने गरेका छन्। टोड्केका बारी तथा पाखोमा उत्पादन भएको एउटै मुलाको तौल झण्डै ५ किलो सम्म हुने गरेको मुला व्यवसायीले अनुभव सुनाएका छन्। 

परम्परागत खेती प्रणालीमा आधारित रहेर प्राङ्गारिक मलको प्रयोग गरेपछि मुलाको तौल बढ्ने गरेको टोड्केका अर्का मुला व्यवसायी मिनबहादुर थजालीले बताए।

जिल्लाकै पहिचान बोकेको टोड्केको मुला खेतीलाई प्रोत्साहन गर्न मुला खेतीमा संलग्न किसानले आफूहरुलाई कृषि औजार, उपकरण र अनुदान सहयोगको माग गरेका छन्। यस्तै कृषि प्रदर्शनी जस्ता कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गरेर टोड्केमा उत्पादित मुला, आलु खेतीको प्रचारप्रसार गर्नसके यसबाट अझै मनग्गे आम्दानी गर्न सकिने स्थानीय बताउँछन्।

यस्तै थोरै मिहिनेत गर्ने र समय दिने हो भने मुलाको प्रयोगबाट विभिन्न प्रकारका परिकारहरू बनाउन सकिन्छ। टोड्केका स्थानीयले मुलाबाट जस्तैः धजरा, चाना, सिन्की (गुन्द्रुक) बनाएर राख्ने गर्दछन्। स्थानीयले मुलाबाट यस्तै खालका परिकारहरु बनाइ बिक्री वितरण समेत गर्दै आएका छन्।

मुलामार्फत पर्यटन प्रवर्द्धन

म्याग्दी सदरमुकाम बेनीदेखि करिब २० किलोमिटर कच्ची सडकबाट पुग्न सकिने टोड्के क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण गन्तव्यका रुपमा मानिन्छ। टोड्केबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रेको दृश्यावलोकन गर्न पाइन्छ।

यस्तै यहाँ उत्पादित अर्गानिक मुलाले स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन समेत गरेको छ। स्थानीयवासीको लगानीमा टोड्केमा सामुदायिक लज सञ्चालनमा आएपछि त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरुले मुला र आलु खरिद गर्ने गरेका छन्।

सामुदायिक लजमा पाहुना भएर बस्न जाने पर्यटकलाई अर्गानिक उत्पादन मुलाको स्वाद चखाउने गरिएको छ। यसका साथै टोड्के क्षेत्रको भ्रमणमा निस्कने पर्यटकहरुमार्फत मुलासहित स्थानीय उत्पादनको पनि प्रवर्द्धन भएको छ।

टोड्केमा पुग्ने पाहुना तथा पर्यटकहरुलाई स्थानीयवासीले मुलाबाट बनाएको परिकारहरु अचार, मुलाका चाना, धजरा, सिन्कीलगायत उपहार तथा मायाको चिनो कोसेलीको रुपमा उपहार दिने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.