एमालेले संसद् अवरोध गरिरहनुको कुनै अर्थ छैन : उपेन्द्र यादव

|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस विद्रोहकै कारणले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन्। 

माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन। यो मुलुकमा निरंकुश व्यवस्था र शासनको अन्त्य हुने थिएन। संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्रमै रुमल्लिएर बसिरहेको हुन्थ्यो होला। अध्यक्ष प्रचण्डको नेतृत्वमा कुशल पार्टी अगाडि बढोस्।’ 

उनले पूर्व-माओवादीहरू सँगसँगै काम गरेको स्मरण गरे। कम्युनिष्ट पार्टीका प्रधानमन्त्री भए पनि सत्य मेलमिलाप आयोग अलपत्र रहेको बताए। जनयुद्ध घाइतेहरूले अझै न्याय नपाएको गुनासो गरे। वर्ग र वर्ण विभेद अझै भएकाले त्यसलाई समाधान गर्नुपर्ने उनले बताए। 

अध्यक्ष यादवले भने, ‘समावेशीता, संघीयता, गणतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिहरू धरापमा परेको छ। गठबन्धनको सरकार छ प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ। गठबन्धनको महत्वपूर्ण अंग माओवादीको महाधिवेशन भइरहेको छ। विगतको सरकारले गरेको गल्तीलाई सच्चाएर अगाडि जानुपर्छ।’ 

संविधान जारी हुँदा देशका आधाभन्दा धेरैले कालो दिवसको रूपमा बनाएको उनले बताए। संविधान समावेशीता बनाउनका लागि संविधान संशोधन र परिमार्जन अहिलेको अत्यन्त आवश्यकता रहेको उनको भनाइ छ। 

अध्यक्ष यादवले एमाले महासचिव शंकर पोखरेललाई भने, ‘संसद् अवरुद्ध छ। अवरोध गर्ने कमरेड यही हुनुहुन्छ। संसदमा अवरुद्ध गर्नुको अर्थ छैन। सबैले आ-आफ्ना हठ त्यागेर संघीय गणतन्त्रको रक्षा गर्न एकजुट हौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.