|

जाजरकोट  ः राजनीतिमा संख्या बढी देखाउनका लागि जाजरकोटका गाउँ, गाउँमा पार्टी प्रवेश कार्यक्रममा बालबालिकाको प्रयोग बढिरहेको छ।

ठूला दलको अधिवेशन चलिरहेको समयमा भीड देखाउन सबैभन्दा बढी बालबालिकालाई नै उपस्थित गराएको देखिन्छ।

सभा, सम्मेलन र विरोध कार्यक्रममा ठूलो जनमानस देखाउन बालबालिका भेला गर्ने चलन अत्यधिक हुँदै आएकोमा अब दल प्रवेश कार्यक्रममा समेत बालबालिकालाई उपस्थित गराइन थालिएको छ।

दलनिकट विद्यार्थी संगठनले आफ्ना माउ दलका नेताको सहभागितामा साना, साना विद्यार्थीलाई विद्यालयमा जम्मा गरि विद्यार्थी संगठन विस्तार गर्ने र दल त्याग गर्न लगाइ प्रवेशको हल्ला फिँजाउने गरेको अभिभावकहरु बताउँछन्।

कालिका बालबालिकालाई शिक्षा र राम्रो संस्कार दिने उमेरमा राजनीति कुरा दिमागमा घुसाएर भविष्य बर्बाद गर्न खोजेको बारेकोट गाउँपालिका–४ का सुरेन्द्र सिंहले बताए।

उनले भने, ‘पढ्ने, लेख्ने र नयाँ कुराको जानकारी लिने उमेरमा राजनीतिक कुरामा बालबालिकालाई घिसारेर भविष्य बर्बाद गराउने काम हुनु गलत छ। यसको जति विरोध गरे पनि कम हुन्छ।’

बालबालिका भनेका काँचो माटो हुन्, उनीहरुलाई जुन संस्कार दियो सोहीअनुसार चेतना वृद्धि हुने उनले बताए।

विद्यालयका शिक्षकहरु समेत आफ्नो विचार मिल्ने दल आउन बित्तिकै सबै थोक सुम्पिएर काम गर्ने भएकाले थप विकृति फैलिएको अभिभावकको भनाइ छ।

आफ्ना बालबालिका देशका ठूला सहरमा रहेका महँगा विद्यालयमा पढाउने तर गरिबका छोराछोरी पढ्ने विद्यालय राजनीति थलो बनाइ बालबालिकाको भविष्य बर्बाद गर्ने तरिका बन्द गर्नुपर्ने नलगाड नगरपालिका–८ का नरबहादुर विकले बताए।

उनले भने, ‘नेताहरु मानिस जम्मा गर्ने र धेरै देखाउने बहानामा किन यति तलसम्म गिर्न सकेका होलान्, यस्ताबाट के आशा गर्न सकिन्छ र?’ 

साता दिनदेखि नेकपा ( एमाले ) निकट अनेरास्ववियुले जाजरकोटका सबै पालिकामा शिक्षक तथा नेताहरुको सहभागितामा विद्यार्थी संगठन विस्तारको नाममा बालबालिका जम्मा गरि कार्यक्रम गर्दैै पार्टी प्रवेशसम्मका कार्यक्रम जारी राखेको छ।

शिक्षकहरुबीच बसेर सामाजिक सञ्जालमा तस्वीर सार्वजानिक गर्दै फलानो विद्यालयमा संगठन विस्तार गरियो भनि सार्वजानिक रुपमा सबैभन्दा राम्रो काम गरेको झैँ चर्चा बटुल्ने प्रयास गरेको देखिन्छ।

एक महिना पहिला नेकपा (माओवादी केन्द्र) निकट अखिल ( क्रान्तिकारी) ले समेत माउ पार्टीको नेताको सहभागिताविनै विद्यालयमा गएर संगठन विस्तार गरेको तस्वीर सार्वजानिक भएका थिए।

कांग्रेसनिकट नेपाल विद्यार्थी संघले भित्रभित्रै कार्यक्रम गरे पनि भड्किलो भने देखाएको छैन।

एमाले फुटेर दुई दलमा विभाजन भएसँगै अरुभन्दा चर्को रुपमा एमालेनिकट विद्यार्थी संगठन र एमालेका नेताहरु लागेको देखिन्छ।

शिक्षकहरु समेत विद्यालयको कोठाभित्र शिक्षणका लागि जाँदा घुमाइघुमाइ दलकै प्रचार गरिरहेको विपक्षी दलको आरोप लगाउदै आएका छन्।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीका सदस्य सुशील रावतले भने, ‘शिक्षकहरुको काम पढाउने हो तर यहाँ घुमाउरो तरिकाले दलकै प्रचार गर्ने गरेको देखिन्छ। हाम्रा छोराछोरीहरु शिक्षकको गतिविधिबारे खुलेरै हामीसँग कुरा गर्छन्।’

विद्यालयमा अध्यापन समयमा समेत आ-आफ्ना समर्थक शिक्षकहरु को ठूलो र को सानो भनेर चर्चा, परिचर्चामै बढी समय बिताउने गरेको त्रिभुवन मावि खलंगाका छात्र सुन्दर शाहले बताए।

विद्यालयमा नयाँ, नयाँ ज्ञानको कुरा गर्ने ठाउँमा कसको दलले जित्ला भन्नेमा मात्र केन्द्रित हुनु दुःखद भएको अभिभावकसमेत बताउँछन्।

अधिकांश शिक्षकहरुको सामाजिक सञ्जालहरु आफूनिकट दलकै प्रचारमा रंगिएका देख्न सकिन्छ।

जाजरकोटमा सबैभन्दा बढी नेपाली कांग्रेसनिकट शिक्षकहरु राजनीतिक रुपमा संगठित भएको पाइएको छ।

१४ औँ महाधिवेशनमा मात्र ५० भन्दा बढी कांग्रेसनिकट शिक्षकहरु महाधिवेशन प्रतिनिधि, सदस्य भएर खटिएका थिए।

पालिका स्तरको पार्टीकै मुख्य पदमा शिक्षकहरु कार्यकारी पदमा बसेर काम गरिरहेका छन्।

बालबालिकालाई राजनीतिमा प्रत्यक्ष सहभागिता गराउन नपाइने भएपनि जाजरकोटमा यस्तो भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.