|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैतमा सञ्चालन गर्ने तयारी गरेको छ। तर, बोर्डले यसको औपचारिक निर्णय गरिसकेको छैन।

कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष परीक्षा नै नलिएको बोर्डले यसपटक परिस्थिति अनुकुल भएकाले भौतिक उपस्थितिमा परीक्षा लिने योजना बनाएको छ। 

हुन त विगत दुई वर्ष पनि बोर्डले परीक्षाको तयारी नगरेको होइन । कोरोना महामारी तिब्र फैलिएपछि अन्तिम समयमा परीक्षा स्थगित गरी आन्तरिक मुल्याङ्कन विधिबाट नतिजा निकालिएको थियो ।

दुवै वर्ष छापेर तयार पारिएका प्रश्नपत्र प्रयोगमा आउन सकेनन्। वि.सं. २०७६ सालमा छापिएको प्रश्नपत्र पनि प्रयोगमा नआएपछि जलाएर नष्ट गरिसकिएको छ। वि.सं.२०७७ सालका लागि छापिएको प्रश्नपत्र बाँकी छ। 

बोर्डले यसपटक पोहोरकै प्रश्नपत्र  प्रयोग गर्नेबारे छलफल थालेको छ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले प्रश्नपत्र छाप्ने वा पुरानै प्रयोग गर्ने भन्नेबारे छलफल भइरहेको बताए। उनले भने,‘प्रश्नपत्रबारे के गर्ने र परीक्षा कहिले सञ्चालन गर्ने भनी छलफल भइरहेको छ,टुंगिएको छैन।’ 

उनका अनुसार छलफलकै चरणमा रहेकाले नयाँ प्रश्नपत्र छपाइको काम सुरु भएको छैन।

बोर्ड परीक्षा नियन्त्रण कार्यालय (पनिका) का अनुसार भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने भनी २०७७ सालमा करिब पाँच लाख प्रश्नपत्र छापिएको थियो। यसमा करिब दुई करोेड रुपैयाँ खर्च भएकाे छ। 

उक्त प्रश्नपत्र परीक्षा नियन्त्रण कार्यालय(पनिका)मा सुरक्षित रहेको बोर्ड पनिका(कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए। उनले बोर्डमा पनि छलफल चलेको र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जे निर्देशन दिन्छ त्यही आधारमा प्रश्नपत्रबारे निर्णय हुने जानकारी दिए।  

बोर्डका अनुसार हालसम्म देशभरबाट चार लाख बढी विद्यार्थीले परीक्षाका लागि फारम भरिसकेका छन्।

 दुई पटक आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित

नेपालमा कोभिड–१९ महामारी फैलिएपछि वि.सं.२०७६ सालको एसइई परीक्षा भौतिक उपस्थितिमा हुन सकेन। सरकारले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेपछि विद्यालयले नै मुल्यांकन गरी विद्यार्थीको नम्बर सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाई प्रमाणित गरिएको थियो।

त्यसपछि बोर्डले नतिजा प्रकाशित गर्यो। तर विद्यालयले आफूखुशी बढी नम्बर चढाएको भनी चर्को विरोध र आलोचना पनि भयो। बोर्डका अनुसार त्यसबेला परीक्षाका लागि छापिएका प्रश्नपत्र जलाइएकाे थियाे।  वि.सं. २०७७ को एसइई परीक्षा पनि भौतिक उपस्थितिमै सञ्चालन गर्ने भनिए पनि अन्तिममा हुन सकेन।

यसका लागि बोर्डले जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा–१२ को परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो। तर नेपालमा पुन: दोस्रो लहरको कोरोना फैलिएपछि परीक्षा हुन सकेन। यसको पनि आन्तरिक मुल्यांकनबाटै नतिजा प्रकाशित भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.