|

काठमाडौं : बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ।

उपाधि जितेर फर्किएको नेपाली टोलीलाई नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दा युवा तथा खेलकुद मन्त्री  महेश्वरजंग गहतराज  टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए।

सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको महिला टोली र चौथो भएको पुरुष टोलीसहित दुई निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्किएको हो। यसअघि २०१९ मा नेपाल पहिलोपटक उपाधि जितेको थियो।

पुरुषतर्फको खेलमा पुरुष टोलीले मध्यम प्रदर्शन गरे पनि महिलातर्फ भने टोलीले अपराजित रहँदै उपाधि जितेको थियो। सोही महिला टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री गहतराज, नेपाल भलिबल संघका पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले नेपाल महिला भलिबलमा राम्रो भएको र अबको दिनमा भलिबलका लागि छुट्टै अन्तर्राष्ट्रियस्तरको भलिबल प्रशिक्षणस्थल आवश्यक भएको बताए। प्रतियोगिता अगाडिभन्दा पनि सधैँ निरन्तर नेपाली टोलीलाई अभ्यासमा निरन्तर बनाउँदै चलायमान बनाउन सके नेपालको भलिबल निकै माथि पुग्ने नेपाली टोलीका मुख्य प्रशिक्षक भट्टले बताए।

नेपाली महिला टोलीकी कप्तान अरुणा शाहीले पनि प्रशिक्षक भट्टले भने जस्तै भलिबललाई सुविधा सम्पन्न कभर्डहल आवश्यक भएको बताइन्। कप्तान अरुणाले ग्रासरुट लेभलबाट नै भलिबलमा काम गर्न सके आउँदा दिनमा बलिया राष्ट्रमा अझै राम्रो सफलता हात पार्ने बताइन्।

पत्रकार सम्मेलनमा कप्तान शाहीको भनाइ

तपाईहरु यहाँ आएर हामीलाई स्वागत गरिरहँदा मैले यसलाई सम्मान र हौसलाका रुपमा लिएको छु। जुन सफलता हासिल गरेका छौँ। अझै यसलाई मैले र विशेष हाम्रो टीमले जिम्मेवारी थपिएको महशुस गरेका छौँ। म आगामी दिनमा अझै राम्रो गर्ने बाचा गर्न  चाहन्छु।  यो सफलताले हामीलाई थप जिम्मेवारी बनाइरहँदा हामीले पाएका सफलताका पछाडी धेरै

 धेरै पीडाहरु लुकेका कुरालाई पनि भुल्न हँदैन। हामीले जानु भन्दा अगाडि राम्रो ट्रेनिङ पाएका थिएनौं।

 त्यस्तो अवस्थामा पनि हामीले यसरी पदक ल्याउन सफल भएका छौँ। आगामी दिन खेलाडीको मनोबल उच्च राख्न खेलका पूर्वाधार खेलाडीलाई प्रदान गर्न र खेललाई व्यवस्थापन गर्न सक्यौं भने अझै राम्रो सफलता पाउन सक्छौं।

भलिबल नेपालको राष्ट्रिय खेल हो। हामीले यसको महत्व बुझेका छौं। तर,भलिबलको कभर्डहल पनि छैन। यो हाम्रो विडम्वनाको विषय हो। मलाई लाग्छ आउने दिनमा कभर्डहल देख्न पाइने अपेक्षा मैले राखेकी छु।

सेन्ट्रल जोनको उपाधी रक्षा गर्नुपर्ने उत्तरदायित्व हामीसँग भएकाले पनि हामीले सकेसम्म मिहिनेत गरेका थियौं। किनभने शाख जोगाउने दबाबको कारण फाइनल खेल सोचेजस्तो सहज भने पक्कै भएन्।

लिग चरणमा हाम्रो खेल सोचेजस्तो राम्रो हुन् सकेन्। लिग चरणमा उज्वेकिस्तानलाई हामीले सोझो सेटमा जितेका थियौं। तर, फाइनलमा शाख जोगाउने दबाबले गर्दा टिमले राम्रो गर्न नसकेको  हो जस्तो मलाई लागेको छ।  तर, हाम्रो टीमले उपाधि रक्षा गर्न कुनै कसर भने बाँकी राखेन्।  हामीले जसरी उपाधि रक्षा गर्न मिहिनेत गरेका छौं। नेपालमा भलिबलको स्तरवृद्धी गर्न सरकारले पनि चासो राखिदिए आगामी दिनमा थप भलिबलको थप प्रगती हुने नै छ।

अहिले हाम्रो भलिबलको टिम शसक्त छ। तर, हाम्रा प्रतिद्वन्द्वीहरु पनि सशक्त भएर आएका छन्।  हाम्रो मिहिनेत अझ बढाउनुपर्ने भएको छ। खेलाडीले खेलबाट नै करियर अगाडि बढाउन सक्छ भन्ने विश्वास सरकारले गर्नुपर्छ।  भलीबल टीमलाई अझ अगाडि बढाउन हामीपछिको पुस्तालाई यसतर्फ आकर्षीत गर्नुपर्ने समय आइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.