|

म्याग्दी : हिमपात भएपछि म्याग्दीका होटल तथा पर्यटन व्यवसायी र किसान खुसी भएका छन्। म्याग्दीका पर्यटकीय क्षेत्रमा हिमपात भएपछि हिउँमा रमाउन आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ। हिउँमा रमाउन पर्यटक आएपछि होटल व्यवसायीहरु पनि दंग परेका छन्।

म्याग्दीका पर्यटकीय क्षेत्र टोड्के, घोडेपानी, गाजने, मालिकाको धुरी, मुनालगायतका ठाउँमा भएको हिमपातमा रमाउन आन्तरिक पर्यटकहरु पुगेका छन्। पर्यटकहरु पुगेपछि ती क्षेत्रको व्यापार व्यवसाय बढेको स्थानीय व्यापारी तीर्थ पाइजाले बताए।

हिमपातसँगै जाडो भए पनि हिमपातको दृश्य हेर्न पर्यटकहरु आएको होटल व्यवसायी जानुका गुरुङले बताइन्। ‘अब भने व्यवसायले लय लिन्छ कि जस्तो छ‚’ उनले भनिन्‚ ‘हिउँ पर्दा हिउँमा रमाउन आउने युवायुवतीबाट राम्रो व्यापार हुन्छ। त्यसैले हामीलाई त कहिले हिउँ पर्ला जस्तो लाग्छ।’

हिमपातका कारण किसानहरु पनि खुसी भएका छन्। हिउँ परेपछि अन्न उत्पादनमा बृद्धि हुनुका साथै घाँस उत्पादनमा पनि बृद्धि हुने भएपछि पशुपालन व्यवसाय पनि फष्टाउने किसानहरु बताउँछन्।

उच्च क्षेत्रमा कम पानी पर्ने र परेको पानी तत्काल बगेर जाने भएकाले सिँचाइ राम्रो नहुने किसानहरु बताउँछन्। तर‚ हिउँ पग्लन धेरै समय लाग्ने भएकाले बोटविरुवाको गहिराइसम्म सिँचाइ हुदाँ अन्नवालीको उत्पादनमा बृद्धि हुने रुमका किसान इन्द्रबहादुर विकले बताए। हिउँ परेपछि फुस्रा डाँडाहरुमा घाँस उम्रिने र चौपायहरुलाई सहज हुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.