|

काठमाडौं : बाक्लो हुस्सु र कुहिरोका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान सुचारु भएको छ। 

मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भिजिबिलिटी बढेसँगै खुलेको हो।

विमानस्थल खुलेसँगै काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमान अवतरण भएका छन्। विभिन्न देशबाट आएका विमानहरू अवतरण हुन नसकी आकाशमै होल्डमा थिए।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार अहिले आन्तरिक उडान तथा अवतरण पनि सुरु भइसकेको छ।

अन्तर्राष्ट्रियतर्फ कतारको दोहा र दुबईबाट आएका चारवटा विमान र आन्तरिकतर्फ भद्रपुर, पोखरा, विराटनगरका लागि उडान सुरु भइसकेको बताइएको छ।

खराब मौसमका कारण विदेशबाट आएका ८ अन्तर्राष्ट्रिय विमानले काठमाडौंदेखि सिमराको आकाशमै होल्ड हुनुपरेको थियो। लामो समय होल्ड हुनुपर्दा इन्धन सकिने जोखिम बढेपछि तीनवटा विमान बंगलादेशको ढाका एयरपोर्ट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएका थिए।

कुवेतबाट आएको जजिरा एयरका २ विमान र दमामबाट आएको हिमालयन एयरको १ विमानलाई ढाकामा अवतरण गरेका छन् भने फ्लाई दुवईको विमान कलकत्ता एयरपोर्ट डाइभर्ट भएको हो।

अन्तर्राष्ट्रिय विमान उडान तथा अवतरणका लागि कम्तीमा २८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको समयमा भिजिबिलिटी एक सय मिटर हाराहारी मात्रै थियो। 

मौसमविद् समीर श्रेष्ठका अनुसार आन्तरिक विमान उड्न र अवतरण गर्न दुई किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ। त्रिभुवन विमानस्थलबाट दैनिक ५० हाराहारी अन्तर्राष्ट्रिय र झण्डै ३ सय वटा आन्तरिक उडान हुने गर्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.