पुन: क्वारेन्टाइन सञ्चालन गरिने

|

काठमाडौं : कोरोनाको भाइरस संक्रमणको तेस्रो लहरको संकेत देखिएको भन्दै सरकारले तयारी अगाडि बढाएको छ।

पछिल्लो समय भारतमा ओमिक्रोन भेरियन्ट संक्रमण बढ्दै गएको र नेपालमा पनि केही दिनयता देखिएका संक्रमितमा आर–भ्यालु बढेको हुँदा संक्रमण पुनः बढ्ने हुँदा तेस्रो लहरको संकेत देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए।

‘केही दिनयता देखिएका संक्रमितमा आर–भ्यालु बढेको छ। यसले पुनः हाम्रोमा संक्रमण बढ्छ भन्ने संकेत हो, उता हामीसँग धेरै खुला सीमा भएको भारतमा संक्रमण बढ्दै गएको छ। यसले पनि हामी तेस्रो लहरको संघारमा छौँ’‚ उनले भने।

हाल सुदूरपश्चिम र प्रदेश १ मा आर–भ्यालु’ १.०४ भन्दा माथि रहेको हुँदा अबको एक दुई हप्ता अर्थात् माघको दोस्रो /तेस्रो हप्तातिर संक्रमण उच्च तहमा बढ्न सक्ने अनुमान गरिई सोहीअनुसार तयारी गरिएको डा. पौडेलले बताए।

आर–भ्यालु एकभन्दा माथि भए संक्रमण उकालो लागिरहेको बुझिने समेत उनले बताए । आर–भ्यालुले कोभिड संक्रमित एकजनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ। आर–भ्यालु एकभन्दा मुनि रहँदा महामारी नियन्त्रणभित्र रहेको देखाउँछ।

असार पहिलो साता कोभिडको दोस्रो लहर उच्च बिन्दुमा पुगेर ओरालो लागेका वेला आर–भ्यालु ०.६ सम्म झरेको थियो। दोस्रो लहर उच्च हुँदाताका आर–भ्यालु २ भन्दा बढी देखिएको थियो । हाल सुदूरपश्चिम र प्रदेश १ मा आर–भ्यालु एकभन्दा माथि भएको हुँदा तेस्रो लहरको संघारमा आइपुगेको डा. पौडेलले बताए।

पुनः परीक्षण बढाउन र क्वारेन्टाइन सञ्चालन गरिने

तेस्रो लहरको संकेत देखिएपछि पुनः क्वारेन्टाइन सञ्चालन गर्न र समुदायमा जनस्वास्थ्यको मापदण्ड कडाइ गर्नुका साथै परीक्षण तीव्र पार्न आज ७७ जिल्लाका सबै स्थानीय तहलाई निर्देश दिने कार्यक्रम रहेको समेत डा. पौडेलेले बताए।

‘तेस्रो लहरको संकेत देखिए पनि आज हामीले देशभरका सबै स्थानीय तहलाई पुनः क्वारेन्टाइन सञ्चालन गर्न र समुदायमा जनस्वास्थ्यको मापदण्ड कडाइ गर्नुका साथै परीक्षण तीव्र पार्न निर्देशन दिँदै छौँ भने मन्त्रालयले पनि र्‍यापिड रेस्पन्स प्लान गराउँदै छ’‚ उनले भने।

भारतमा ओमिक्रोन संक्रमण बढ्दै गएको र पछिल्लो समय सीमा नाकामा भएका विभिन्न हेल्थ डेस्कमा कोभिड संक्रमण दर दुई तीन प्रतिशतभन्दा बढी भएकाले यसका साथै पछिल्लो समय सीमा क्षेत्रमा देखिएको केशहरूको जीन सिक्वेन्सिङ समेत गरिएको उनले बताए।   

कोभिड–१९ को यो नयाँ भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक पाइएको छ। नेपालमा हालसम्म दुईजनामा मात्र ओमिक्रोन पुष्टि भएको छ।

कसरी पत्ता लाग्छ ओमिक्रोन भेरियन्ट?

कोरोना भाइरसको भेरियन्ट पत्ता लगाउन जीन सिक्वेन्सिङ भाइरसको जेनेटिक (आणुवांशिक) बनावटलाई डिकोट गर्ने परीक्षण गर्ने गरिएको छ। तर ओमिक्रोन भेरियन्टमा एस जीन म्युटेसन भएकाले यो नेगेटिभ आउँछ।

पिसिआर पोजेटिभ र एस जीन नेगेटिभ आएको नमुनाको मात्र जीन सिक्वेन्सिङ गर्ने गरी मापदण्डमा तयार पारिएको डा. पौडेलले बताए।

उनले भने, ‘हाम्रोमा देखिएका भेरियन्टमा सुरुसुरुमा कोरोना सबै खालमा जीन पोजेटिभ आउँथ्यो। एस जीन पनि पोजेटिभ नै आउँथ्यो तर हाल ओमिक्रोन भेरियन्टको एस जीनमा म्युटेसन भएको छ, जसले गर्दा पिसिआर परीक्षणका क्रममा एस जीन नेगेटिभ आएका नमुनाको मात्र जीन सिक्वेन्सिङ गर्ने गरिएको छ।’

मन्त्रालयले तयार पारेको जीन सिक्वेन्सिङ गर्ने गरी मापदण्डअनुसार हाल पिसिआर पोजेटिभ हुने नमुनाको जीन सिक्वेन्सिङ दुई चरणमा गरिन्छ।

पहिलो, पिसिआर परीक्षण गरिन्छ। दोस्रो पिसिआरमा कोरोना पोजेटिभ र एस जीन नेगेटिभ आएको हुनुपर्छ। जीन सिक्वेन्सिङमा चारवटा जीन परीक्षण गर्ने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.