|

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बिहान करिब ९ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए।

बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन्।

बैठकले राष्ट्रियसभाको १९ सिटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ सिट खाली हुँदैछ।

कांग्रेसले आफ्नो ३ सहित थप ४ गरी ७ सिटमा भाग खोजेको छ। माओवादी र एकीकृत समाजवादीलाई उनीहरुको रिक्त रहेको ४–४ सिट दिएर थप एक–एक सिट दिने कांग्रेसको तयारी रहेको छ। एक सिट जनता समाजवादीलाई दिनुपर्ने कांग्रेसको प्रस्ताव छ।

एमालेलाई आफ्नो ८ सिट जोगाउनुपर्ने चुनौती छ। राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि आगामी माघ १२ गते चुनाव हुँदैछ। त्यसका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्य र गाउँपालिका/ महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्।

राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ। हाल २ हजार २० मतदाता रहेको बताइएको छ। उनीहरूको मतभारसमेत फरक-फरक हुने गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.