‘कक्षा १ मा प्रवेश परीक्षा लिएकाे पाइए स्थानीय तहले कारबाही गर्नुपर्छ’

|

काठमाडौं : सरकारले कक्षा १ मा निजी र सामुदायिक स्कुलले प्रवेश परीक्षा (इन्ट्रान्स) लिन नपाउने बताएको छ।

तर, काठमाडौं उपत्यकाभित्रका अधिकांश निजी स्कुलले स्थानीय तहकै संरक्षणमा परीक्षा लिने गरेको पाइएको छ।

ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले आगामी चैतबाट नयाँ भर्ना सुरु गर्दै छ।

स्कुलका अनुसार कक्षा-१ मा भर्ना हुन प्रवेश परीक्षा दिएर पास गरेपछि मात्र त्यहाँ विद्यार्थी पढ्न पाउँछन्।

यसैगरी ललितपुरकै रातो बंगला स्कुलले पनि प्रवेश परीक्षा लिन्छ।

रातो बंगलाका कर्मचारीका अनुसार कोभिडको बेलामा भने लिएको थिएन। तर,नयाँ शैक्षिक सत्रबाट भने परीक्षा लिने तयारी गरेकाे छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले परीक्षा लिएर बालबालिकाको मानसिकतामा असर पुर्‍याउन नपाइने र यसको अनुगमन तथा नियमन स्थानीय तहले गर्नुपर्ने बताए।

उनले भने, ‘त्यसरी कुनै पनि प्रवेश परीक्षा लिन पाइँदैन, यसको नियमनलगायत सबै जिम्मा २०७४ सालबाटै स्थानीय तहले पाएका छन्, उनीहरुले रोक्ने र कारबाही गर्ने हो।’

तर, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार अहिले पनि सेन्ट जेभियर्स मात्र नभइ बूढानीलकण्ठ स्कुल, पाठशालालगायत नाम चलेका स्कुल र प्रायः उपत्यकाभित्रका अधिकांश निजी विद्यालयले यस्तो परीक्षा लिने गरेका छन्।

निजी स्कुललाई स्थानीय तहकै संरक्षण

मन्त्रालयका प्रवक्ता शर्माले प्रवेश परीक्षा लिन नपाउने र लिएकाे पाइए स्थानीय तहले कारबाही गर्नुपर्ने बताइरहँदा यता स्थानीय तहहरू भने तिनै निजी स्कुलको पक्षमा उभिएर संरक्षण दिइरहेका छन्।

ललितपुर महानगरपालिकाका शिक्षा विभाग प्रमुख महेन्द्रबहादुर क्षेत्रीले  महानगरपालिका भित्रका कुनै निजी स्कुलले प्रवेश परीक्षा नलिएको दाबी गरे।

उनले सुरुमा सेन्ट जेभियर्स स्कुलले पहिले परीक्षा लिए पनि अहिले रोक लगाएको बताए।

तर, हामीले अझै पनि परीक्षा लिँदै आएको जानकारी दिएपछि उनले भने, ‘जब कुनै स्कुलमा अत्यधिक विद्यार्थी आउने गर्छन् र यसले स्कुलमाथि प्रेसर हुन्छ,त्यही भएर परीक्षा लिन्छन्।’

प्रेसर भएकाेले परीक्षा नै रोक्नमा उनकाे कुनै जोड थिएन।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले पनि परीक्षा रोकेर बालबालिका र अभिभावकहरूलाई न्याय दिनभन्दा पनि विद्यार्थीलाई टर्चर नदिइ विद्यार्थी छान्न पाउने बताए।

​उनले भने, ‘निजी स्कुल व्यक्तिगत लगानी गरेर चलाएको हो, अभिभावकले पनि पैसा तिर्छन् र स्कुलले पनि छानेर राख्न पाउँछन्, टर्चर दिन चाहीँ भएन।’

उनका अनुसार सामुदायिक र निजी गरी १ सय ४० स्कुल नगरपालिकाभित्र छन्।

अरु स्कुलले प्रवेश परीक्षा नलिएको तर बूढानीलकण्ठ स्कुलले भने छानेर राख्ने गरेको उनले भनाइ राखे।

काठमाडौं महानगरपालिकाको उल्टै प्रतिप्रश्न

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले स्कुल आफैंले कोटा सिस्टम लागू गरेकाले परीक्षा लिने गरेको बताए।

‘एउटा स्कुलमा ३० जनाको पढ्ने कोटा छ, ४० जना भए तपाईं के गर्नुहुन्छ?,’ उनले प्रतिप्रश्न गरे, ‘विद्यार्थी छान्नै पर्छ, यसमा निजीकै लगानी छ, पाइँदैन भनेर हुँदैन।’

बालबालिकालाई परीक्षा नै लिँदा मानसिक असर पर्ने गरेको भन्दै विद्यार्थी छान्ने आधार प्रवेश परीक्षा नभई अरु आधार सोच्नुपर्ने उनले बताए। 

मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले भने नगरपालिकाभित्र त्यसरी परीक्षा नलिएको बताए।

उनले भने, ‘हाम्रो नगरपालिका भित्रका स्कुलले प्रवेश परीक्षा लिएको जानकारी केही छैन।’

बालबालिकामा परीक्षाको कस्तो पर्छ ?

अक्षरसमेत नचिन्ने बालबालिकालाई परीक्षामा सामेल गराउँदा उनीहरूको मानसिकतामा ठूलो असर पुग्ने विज्ञहरु बताइरहेका छन्।

उनीहरुलाई स्कुलले त्यसरी प्रवेश परीक्षा लिन नपाउने शिक्षाविद्हरू बताउँछन्।

मनोविश्लेषक बासु आचार्यका अनुसार  कक्षा १ मा बालबालिकालाई भर्ना गर्दा भर्खरै बुद्धि विकास हुन थालेको हुन्छ। उनीहरू अक्षर चिन्दैनन्।

‘१५ वर्षपछि मात्र विवेकको विकास हुन्छ,’ उनले भने, ‘सानैमा परीक्षा लिएर प्रतिस्पर्धा गराउँदा पछिसम्म पनि उनीहरूको मनस्थितिमा असर पुग्छ, जसकारण अध्ययनबाटै टाढिन सक्छन्।’ 

अभिभावक महासंघका अध्यक्ष भण्डारीले सरकारसँग ७ वर्षदेखि परीक्षा खारेज गर्न पटक-पटक माग गरे पनि हालसम्म कुनै सुनुवाई नभएको बताए।

‘परीक्षा गराउँदा बालबालिकालाई मानसिक असर पुग्छ, अभिभावक पनि समस्या र चिन्तामा पर्छौं, बरु गोलाप्रथाबाट विद्यार्थी छान्नुपर्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.