|

पर्वत : राष्ट्रियसभाका सदस्यहरूको चारवर्षे कार्यकाल सकिएपछि माघ १२ मा हुने राष्ट्रियसभाको निर्वाचनका लागि गण्डकीबाट सबै दलले आ–आफ्ना उम्मेदवारको टुङ्गो लगाएका छन्।

मङ्गलबार हुँदै गरेको मनोनयनका लागि गण्डकीमा प्रतिपक्षीको रूपमा रहेको एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

राष्ट्रियसभा सदस्यमा अन्य समूहबाट बागलुङका दिनानाथ शर्मा, महिलामा शान्तिकुमारी जिसी तथा दलितमा स्याङ्जाका खिमकुमार विकको कार्यकाल पूरा भएपछि सोही तीन पदमा निर्वाचन गर्न लागिएको हो।

निर्वाचनका लागि नेकपा एमाले र कांग्रेससहितका गठबन्धन दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन्। एमालेले अन्यमा कास्कीका पुण्यप्रसाद पौडेलको, महिलामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) की लीला थनेतको र स्याङजाका अर्जुनकुमार सोनामको मनोनयन दर्ता गराइसकेको छ।

गण्डकी प्रदेश सरकारमा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाले भने साझा उम्मेदवार तय गरेका छन्।

गठबन्धनमा रहेका दलहरूले साझा उम्मेदवार खडा गरेपछि प्रतिपक्षमा रहेको एमाले एक्लैले गठबन्धनसँग भिड्नुपर्ने भएको छ।

गठबन्धनबाट महिला कोटामा नेपाली कांग्रेसबाट गोरखाकी कमला पन्त, माओवादी केन्द्रबाट तनहुँका सुरेश आले मगर र दलित कोटामा पनि माओवादीबाटै स्याङ्जाका भुवन सुनारलाई उम्मेदवार बनाइएको छ।

राष्ट्रिय जनमोर्चाले केन्द्रीय गठबन्धनबाटै एकजना उम्मेदवार पाउने भएपछि गण्डकीमा पनि गठबन्धनसँगै भएको छ। यदि केन्द्रबाट नमिलेको भएमा जनमोर्चा एक्लैले गठबन्धन बाहिर बसेर एकल उम्मेदवार उठाउन सक्थ्यो।

को छ बलियो ?

गण्डकीमा एमालेका उम्मेदवारहरूले विजयी हुन निकै सकस रहने देखिन्छ। राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउँछन्।

यो अनुसार गठबन्धनसँग कुल ३ हजार १७६ मत छन्। प्रतिपक्षी एमालेसँग त्योभन्दा ६२० कम मत अर्थात् २ हजार ५५६ मत रहेका छन्। एकजनासँग ४८ मत, स्थानीय तहका प्रमुख एकजनासँग १८ तथा उपप्रमुखसँग पनि १८ मत हुने प्रावधान छ।

प्रदेशसभामा गठबन्धनको भन्दा पनि धेरै सांसद एमालेका छन्। एकजना बराबर ४८ का दरले एमालेका २७ जना सांसदको मतभार १ हजार २९६ हुन आउँछ।

यस्तै १५ जना सांसद रहेको कांग्रेसको मत भार ७२०, १२ जना सांसद रहेको माओवादीसँग ५७६ तथा दुई/दुईजना सांसद रहेका भने जनमोर्चा र जनता समाजवादीसँग कुल ९६/९६ मत भार रहेको छ।

११ जिल्ला रहेको गण्डकीका ८५ वटा स्थानीय तहमध्ये कांग्रेसका प्रमुख र उपप्रमुख गरेर ८३ जना जनप्रतिनिधि रहेका छन् भने उनीहरूको मतभार एकजनाको १८ का दरले १ हजार ४४८ हुन्छ।

यस्तै १२ जना जनप्रतिनिधि रहेका माओवादीको मतभार २१६, तीनजना जनप्रतिनिधि रहेको जनमोर्चासँग ५४, दुईजना जनप्रतिनिधि रहेको राप्रपासँग ३६ र एकजना जनप्रतिनिधि रहेको समाजवादीसँग १८ मत रहेको छ।

मनाङबाट स्वतन्त्र रूपमा सांसद बनेका दीपक मनाङे गठबन्धन सरकारमा रहेका कारण उनको ४८ मतभार पनि गठबन्धनमा नै जानेछ।

प्रमुख र उपप्रमुख गरेर ७० जना जनप्रतिनिधि रहेको एमालेको मतभार १ हजार २६० हुन्छ।

कांग्रेस, माओवादी र समाजवादी लगायतका दलका तर्फबाट गठबन्धन बनाएकाले उनीहरूका तर्फबाट ३ हजार १७६ मतभार हुने भएकाले गठबन्धनले चुनाव जित्ने निश्चित जस्तै देखिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.