|

पर्सा : वर्षा हुने र बादल लाग्न थालेपछि पर्साका पालिकाले आफ्नो क्षेत्रका विद्यालय धमाधम बन्द गरिरहेका छन्। अहिलेसम्म पर्साका ८ वटा पालिकाले आफ्नो क्षेत्रका विद्यालय बन्द गरेका छन्।

१४ पालिका रहेको पर्सामा पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, छिपहरमाई गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, कालिकामाई गाउँपालिका, धोबिनी गाउँपालिका, जिराभवानी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाले सामुदायिक विद्यालय बन्द गरेको जनाएका छन्।

बिहीबार दिउँसो घाम लागेपछि विद्यालय बन्द गर्ने पालिकाले आगामी आइतबारबाट खोल्ने सूचना पनि सार्वजनिक गर्न थालेका छन्। 

दुई दिन घाम देखिए पनि मौसमको छैन भर

मौसम बदली हुँदै बुधबार र बिहीबार घाम देखिए पनि चिसोको प्रकोप कम भइनसकेकाले स्थानीय जिल्ला विपद् व्यवस्थापन समिति, सामाजिक संघ संस्था र पालिकाले न्यानो कपडा वितरण गर्ने तयारी गरिरहेका छन्।

केही पालिकाले चाहिँ निर्वाचनलाई लक्षित गरी ज्येष्ठ नागरिकका नाममा आर्थिक अवस्था सबल भएकालाई पनि कम्बल, छाता र न्यायो कपडा वितरण गर्न थालेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिले पुस २ गते नै सरोकारवालाको बैठक गरी जिल्लाभरी चिसोबाट आम सर्वसाधारणलाई बचाउन विभिन्न ९ सूत्रीय निर्णय गरेको छ।

निर्णयमा चिसोबाट हुने जोखिम कम गर्न प्रभावित क्षेत्र, गाउँ, टोलका विपन्नको पहिचान गरी दाउरा वितरण गर्ने, न्यानो कपडा बाँड्नेदेखि चिसोबाट बिरामी भएकालाई पालिकाको सिफारिसअनुसार नारायणी अस्पताल वीरगन्जमा निःशुल्क उपचार गर्नेसम्मका निर्णय छन्। 

दाउरा ल्याउने, बाँड्ने र विपदमा परेकालाई उद्धार गर्ने, अस्पताल पुर्‍याउने र यहाँको नारायणी अस्पतालले पालिकाहरूको सिफारिसमा निःशुल्क उपचार गर्नेसम्मको काम सरोकारवाला निकायले बाँडफाँड गरी तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

विपद् पूर्व र पछि सम्बन्धित समस्यामा कम गर्न मानिसको आवागमन बढी हुने चोकचौराहमा आगो बाल्ने काम पनि थालिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

जिल्लाभर तैनाथी अवस्थामा जिम्मेवार निकाय रहेकाले आपद् विपद् आउन नदिने गरी काम अगाडि बढाइने पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.