निश्चित ठाउँमा आंशिक लकडाउन गर्ने वेला आयो

|

काठमाडौं : पछिल्लो समय छिमेकी देश भारतमा संक्रमितको संख्या तीव्र बढिरहेको र केही दिनयता नेपालको पनि सीमावर्ती क्षेत्रमा संक्रमितको संख्या बढेको हुँदा स्मार्ट लकडाउनमा जानुपर्ने अवस्था आएको विज्ञहरूले बताउन थालेका छन्।

अझै भारतमा ओमिक्रोन संक्रमण बढ्दै गएको र सुदूरपश्चिम र प्रदेश १ मा कोरोना संक्रमित ह्वात्तै बढेको हुँदा संक्रमणको अवस्था हेरेर विशेष ठाउँमा आंशिक लकडाउन गर्नुपर्ने वेला आएको बताउँछन्‚ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेल।

‘सीमा क्षेत्रहरूमा पछिल्लो केही दिनयता संक्रमितको संख्या ह्वात्तै बढेको छ। यो हाम्रा लागि एकदमै खतराको संकेत हो, वेलैमा संक्रमणको अवस्था हेरेर स्थानीय स्तरबाट पनि स्मार्ट लकडाउन गर्न सकियो भने धेरै राम्रो हुन्थ्यो’‚ उनले भने।

सीमा डेस्कमा कोरोना देखिएकामध्ये धेरैमा एस जिन नेगेटिभ

भारतमा ओमिक्रोन भेरियन्ट संक्रमित बढिरहेको अवस्थामा पछिल्लो समय भारतबाट आउने र सीमाको हेल्थ डेस्कमा परीक्षण गर्दा संक्रमण देखिनेहरू धेरैमा ‘एस’ जीन नेगेटिभ देखिने संक्रमित दैनिक बढ्दै गएको समेत डा. पौडेलले बताए। ‘ केही दिनयता भारतबाट आउनेहरूमा संक्रमण देखिने धेरैमा एस जिन नेगेटिभ छ। यो ओमिक्रोन भेरियन्ट नै हो भन्ने अनुमान गर्न सकिन्छ’‚ उनले भने।

सुदूर पश्चिम र २ नम्बर प्रदेशको सीमा नाकाको हेल्थ डेस्कमा  परिक्षण गरिएकामा दुई तीन प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएकाले वेलैमा सतर्कता अपनाउनु पर्ने वेला आएको समेत उनले बताए।

ओमिक्रोन भेरियन्ट कतै समुदायमै पुगिसकेको त छैन?

पछिल्लो समय नेपालमा अल्फा भेरियन्टका संक्रमित एकदमै कम हुनु र डेल्टा भेरियन्टबाट पनि एकपटक संक्रमित उच्च तहमा पुगेर ओरालो लागिसकेको अवस्थामा पुनः सक्रमित बढ्दै जानु र जिन नेगेटिभ भएका संक्रमित बढ्दै जाँदा ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न सक्ने अनुमान गर्ने आधार भएको समेत डा. पौडेलले बताए।

‘हालसम्म एस जिन नेगेटिभ भएकाहरूमा ओमिक्रोन भेरियन्ट देखिएको हुँदा पछिल्लो समय एस जिन नेगेटिभ आउने संक्रमित बढेको हुँदा ओमिक्रोन भेरियन्ट फैलिएको अनुमान गरिएको हो तर अब पछिल्लो समय परीक्षणमा (जिन सिक्वेन्सिङ) लागि रहेकाहरूको रिपोट आएपछि सबै थाहा हुन्छ’‚ उनले भने।

हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एस जिन नेगेटिभ आएका २४ वटा नमुना (जिन सिक्वेन्सिङ) परीक्षणको क्रममा रहेको र तिनीहरूको रिपोट आधारमा ओमिक्रोन भेरियन्ट संक्रमणको अवस्थाबारे थप प्रष्ट हुने समेत बताइएको छ।

यदि परिक्षणका क्रममा रहेका २४ वटै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भयो भने कोरोना पोजेटिभ देखिएकाहरूमा एस जिन’ नेगेटिभ आएका सबैलाई सीधै ओमिक्रोन भेरियन्ट संक्रमण भएको पुष्टि गर्ने बारे जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायत अन्य निकायबीच छलफल भइरहेको बताइएको छ।

नेपालमा हालसम्म कोरोना भाइरसको नया भेरियन्ट (ओमिक्रोन) तीनजनामा देखिकेकोछ। यसअघि एस जिन’ नेगेटिभ आएर जिन सिक्वेन्सिङ गराएकामध्ये तीनजनामै ‌ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.