|

सल्यान : जिल्ला निर्वाचन कार्यालयले स्थानीयस्तरमा मतदाता नामावली संकलन गरेपछि सल्यानमा १६ हजार ६ सय ४९ मतदाता थपिएका छन्।

कार्यालयले ९ वटा स्थानीय तहमा गत मंसिर १७ देखि पुस ९ सम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको थियो।

बागचौर नगरपालिकामा भने इलाका प्रशासन कार्यालयबाट धेरैले नागरिकता लिएकाले पुस १९ गतेसम्म नामावली संकलन भएको थियो।

कार्यालयका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दका अनुसार बागचौर नगरपालिकामा सबैभन्दा धेरै मतदाता थपिएका छन्।

उनका अनुसार बागचौर नगरपालिकामा २ हजार १ सय १७, दार्मा गाउँपालिकामा १ हजार ८ सय ११, कुमाख गाउँपालिकामा १ हजार ३ सय ३४, कपुरकोट गाउँपालिकामा ६ सय ८९ जना मतदाता थपिएका छन्।

यस्तै छत्रेश्वरी गाउँपालिकामा ७ सय ३५, कालिमाटी गाउँपालिकामा ७ सय २७, बनगाड कुपिण्डे नगरपालिकामा ४ सय ८६, त्रिवेणी गाउँपालिकामा ९ सय ७५ र सिद्ध कुमाख गाउँपालिकामा ३ सय ५१ जना मतदाता थपिएका छन्। 

यसैगरी मंसिर १ गतेदेखि पुस २१ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट ३ हजार ५ सय १३, जिल्ला प्रशासन कार्यालयबाट २ हजार २६ र इलाका प्रशासन कार्यालय थारमारेबाट १ हजार ८ सय ८५ जनाले नाम दर्ता गराएका छन्।

दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको सूचना अधिकारी चन्दको भनाइ छ।

यससँगै सल्यानमा १ लाख ६३ हजार ७ सय ७२ जना मतदाताले नाम दर्ता गराएका छन्।

उनले भने, 'नाम दोहोरिएको भए हट्छ। परिचयपत्र हराएकाले पनि पुनः नाम दर्ता गराएको हुन सक्छ। बसाइसराई गरी गएका हुन्छन्। सबै रुजु गर्ने काम भइरहेको छ।' 

फोटोसहितको मतदाता नामावलीको लागि नेपाली नागरिकता लिएका सबैले नामावली संकलन गरिए पनि निर्वाचनको मिति घोषणा हुँदा १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने उनको भनाइ छ। 

पालिका स्तरमा अभियान सकिए पनि जिल्ला प्रशासन, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय थारमारेबाट नयाँ मतदाता नामावली संकलनको काम भइरहेको चन्दले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.