|

काठमाडौं : पछिल्ला दिनहरूमा छिमेकी देश भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तीव्र रुपमा बढ्दै जाँदा त्यसको असर नेपालमा पनि देखिन थालेको छ।

स्वास्थ्य मन्त्रालयको एक साताको तथ्यांक हेर्दा काेराेना संक्रमितको संख्या हप्ताकाे अन्तमा करिब साढे दुई गुणाले वृद्धि भएको छ। मन्त्रालयले गत १६ पुसमा सार्वजनिक गरेको विवरणमा ९ हजार ८४ जनाको परीक्षण गर्दा २३५ जना पोजेटिभ थिए। त्यसको ठिक एक साता पछि अर्थात २२ पुसको विवरण हेर्दा १२ हजार ९९ को परीक्षण गर्दा पोजेटिभ संख्या ५४० पुगेको छ।

यो संख्या बुधबार भन्दा १०५ जनाले बढी हो। बुधबार ४३५ जनालाई कोरोना देखिएको थियो। मंगलबार भन्दा १४७ जनाले बढी हो। मंगलबार ३९३ जनामा कोरोना देखिएको थियो।

यसरी संक्रमितको संख्या बढ्दै जादा अस्पतामा उपचार गराउन जाने संक्रमितहरूको संख्या समेत बिस्तारै बढ्दै जान थालेको छ। कोरोना संक्रमितहरुको उपचार हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिन अघि सम्म दैनिक उपचारमा आउने संक्रमितको संख्या शून्यमा झरेको अवस्थामा हाल दैनिक ६/७ जना संक्रमित उपचारको लागि आउने गरेको अस्पतालमा इमर्जेन्सी विभाग प्रमूख लीलानाथ भण्डारीले बताए।

‘विस्तारै उपचारमा आउने संक्रमितको संख्या बढ्न थालेको छ, अहिले धेरै संक्रमित भए भनेर फोन आउने संख्या मात्रै हैन उपचारमै आउने संक्रमित ह्वात्तै बढ्न थालेका छन्’ उनले भने।

संक्रमण भएर सम्पर्कमा आएकाहरू धेरैमा अस्पताल बस्न नपर्ने खालका रहेका समेत भण्डारीले बताए। ‘केही दिन यता सम्पर्कमा आएका धेरै संक्रमितहरू अस्पतालमा बसेरै उपचार गर्नु पर्ने खालका पाइएको छैन’ उनले भने।

कोरोना संक्रमितको उपचार हुने अर्को ठूलो अस्पताल कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) मा पनि उपचारमा आउने संक्रमितको संख्या ह्वात्तै बढेको अस्पतालले  जनाएको छ।

कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पताल(वीर) का निमित्त प्रशासकीय अधिकारीसमेत रहेका प्राडा भुपेन्द्रकुमार बस्नेतका अनुसार दुइ/तीन दिन अघि सम्म ८/९ जना संक्रमित मात्रै उपचाररत रहेको अस्पतालमा हाल २३ जना संक्रमित उपचारमा रहेका छन्।

डा बस्नेतले केही दिन यताको उपचारमा आउने संक्रमितको अवस्था हेर्दा विस्तारै संक्रमित पुन बढ्न थालेको अनुमान गर्न सकिने बताए। ‘ह्वात्तै उपचारमा आउने संख्या बढ्दा संक्रमण पुन बढ्न थालेको देखिन्छ, त्यही भएर हामीले थप तयारी अघि बढाएका छौं’ उनले भने।

केही साता अघिसम्म कोभिड वार्डमा शून्य बिरामी रहेको त्रिवि शिक्षण अस्पतालमा पनि अहिले उपचारमा आउने संक्रमित बढ्दै गएको अस्पतालले जनाएको छ।

कोरना संक्रमितको धेरै उपचार हुने नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालका चिकित्सक डा प्रकाश थापाले हाल अस्पतालमा ४ जना संक्रमित उपचाररत भए पनि यही अवस्थामा संक्रमणकाे दर बढ्दै गए केही दिन पछि भने संक्रमित बढ्न सक्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.