|

तेलुगु फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुनको केन्द्रीय भूमिका रहेको फिल्म 'पुष्पाः द राइज' यतिवेला चौथो सातामा प्रदर्शनरत छ।

फिल्मले दर्शक र समीक्षकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ भने बक्स अफिसमा अहिलेसम्म ३ सय करोड (भारु) भन्दा बढीको कमाइ गरिसकेको छ। 

यो फिल्म शुक्रबारदेखि डिजिटल प्लाटफर्ममा पनि रिलिज भएको छ।

प्रस्तुत छ 'पुष्पा' बारे भारतीय सञ्चारमाध्यम दैनिक भाष्करसँग अल्लु अर्जुनले गरेको कुराकानीको अनुवादित सामग्रीः

अब 'पुष्पाः द रुल' को शुटिङ कहिलेदेखि सुरु गर्नुहुन्छ?

अहिले केही दिन आराम गर्न चाहन्छु। एक डेढ महिना कतै घुम्न जाने योजना छ। त्यसपछि 'पुष्पा २' को शुटिङ सुरु गर्छौँ। 

यस्ता फिल्ममा पहिलोमा भन्दा दर्शकको अपेक्षा दोस्रो भागमा बढी रहने गर्छ। 'पुष्पा २' मा के होला?

हामीलाई पनि 'पुष्पाः द रुल'मा पहिलोभन्दा बढी गर्नुपर्ने दबाब छ, यो एउटा अवसर पनि हो। त्यसैअनुसार काम पनि भइरहेको छ।
दोस्रो भागमा धेरै चुनौती छ, सँगै यस पटक दर्शकको लागि पनि अझै धेरै कुरा हुन्छ।

फिल्म रिलिज भयो, ब्लकबस्टर साबित पनि भयो। तर, तपाईंंले पाउनु भएको पहिलो सकारात्मक प्रतिक्रिया कसको थियो?

देवी श्री प्रसाद जो हाम्रो म्युजिक डिरेक्टर पनि हुनुहुन्थ्यो। उहाँ हाम्रो पहिलो अडियन्स हुनुहुन्थ्यो। त्यसपछि हाम्रो एडिटरको फिडब्याक आयो। एडिट गर्दैगर्दा पनि परफर्मेन्स एकदमै मन पर्‍यो भन्नुहुन्थ्यो। 

सबैभन्दा पहिले पाएको सबैभन्दा सकारात्मक प्रतिक्रिया उहाँहरू दुई जनाका नै हो। 

साउथमा त तपाईं सुपरस्टार हुनुहुन्छ नै, बलिउडमा कोही निर्देशक, निर्मातासँग काम गर्ने चाहना छ?

यही भन्ने छैन, जसले राम्रो स्क्रिप्ट लिएर आउनुहुन्छ, उहाँसँगै काम गर्न चाहन्छु।

बलिउडमा धेरै राम्रा फिल्ममेकरहरू हुनुहुन्छ। एउटा राम्रो प्रोजेक्टमा काम गर्न म सधैं ओपन छु।

यही चाहिन्छ भनेर फिक्स गर्ने मेरो बानी छैन। म त बस एक्सप्लोर गर्न चाहन्छु। तर, अहिलेसम्म बलिउडबाट त्यस्तो प्रस्ताव आएको छैन।

बलिउडका त्यस्ता कोही हिरो हिरोइन छन्, जोसँग तपाईं स्क्रिन सेयर गर्न चाहनुहुन्छ?

म स्क्रिप्टलाई सबैभन्दा महत्त्वपूर्ण मान्छु। स्क्रिप्टले डिमान्ड गर्ने जो कलाकार भए पनि म उसँग काम गर्न मन पराउँछु।

मेरो पर्सनल फेवरेट भनेर कोही छैन। रिक्वायरमेन्ट मेरो फेवरेट हो। रिक्वायरमेन्टअनुसार कोही कलाकार भेटिन्छ भने मलाई काम गर्न एकदमै मजा आउँछ। 

यही फिल्ममा पनि आइपिएस शेखावतका लागि एउटा राम्रो परफर्मेन्स दिने कलाकार चाहिएको थियो जुन काम फहाद फासिलले गरे। उनी एकदमै राम्रो कलाकार हुन्।

मलाई बलिउड, हलिउड या टलिउडको कलाकार भन्ने कुराले कुनै अर्थ राख्दैन। फहाद मलयाली एक्टर हुन्, उनी स्क्रिप्टमा फिट भए र काम गर्न पनि मजा आयो। 

साउथका स्टारको जस्तो फ्यान फलोइङ अन्यत्र देख्न पाइँदैन। यसबारे के भन्नुहुन्छ?

यहाँ मान्छेहरूको माया नै यस्तै हुन्छ। धेरै भाग्यमानी महशुश गर्छु कि मैले यति धेरै माया, इज्जत पाएको छु। 

हामी पनि आफ्ना फ्यानलाई धेरै माया गर्छौँ अनि रेस्पोन्सिवल फिल गर्छौँ। सामाजिक कुराहरूमा पनि सजग हुन्छौँ। यो गिभ एण्ड टेक जस्तो पनि हो। माया देऊ, माया पाऊ। 

फिल्ममा पुष्पाराज भन्छ, 'यह ब्राण्ड अपने दम पर बनाया है'। तपाईं यहाँसम्म आउनुको श्रेय क-कसलाई दिनुहुन्छ? आफू कति लिनुहुन्छ?

म यहाँसम्म आउनुमा सबै अडियन्सको माया हो। यसमा मेरो केही पनि छैन। म यो अल्लु अर्जुन हुनुको सबै श्रेय अडियन्सलाई नै जान्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.