|

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। 

तनहुँको ब्यास नगरपालिका १ तालघरेमा आज बिहानै पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भ्यान चालक नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका ४  मा गएराति मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धुलावारी घर भई हाल इटहरी बस्ने २२ वर्षीय रोशन विश्वकर्माको मृत्यु भएको हो। विश्वकर्माले चलाएको मे १ प ५५९० नम्बरको मोटरसाईकल गएराति साढे ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो। उनलाई उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

यसैबीच काठमाडौंको कलंकीमा गएराति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्। बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ बर्षीय वसन्त विष्टको उपचारको क्रममा कलंकी स्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोबीघाट बस्ने २६ बर्षीय निखिल बमको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

दाङको घोराही उपमहानगरपालिका ११ बुकाली डाँडामा हिजो साँझ रा २ प १८४० नम्बरको मोटरसाइकल अस्थायी नम्बरको जिपलाई ओभर टेक गर्ने क्रममा ना ७ ख ५३ १२ नम्बरको टिपरमा ठोकिन पुगेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही १० का ५३ वर्षीय पदम बस्नेतको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो। सामान्य घाइते भएका मोटरसाइकलमा पछाडी सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.