|

विराटनगर : हरेक अभिभावकको सपना हुन्छ आफ्नो सन्तानले दखल राखेको विषयमा शिक्षा हासिल गरोस् वा उनीहरूको सपना पूरा होस् भन्ने हुन्छ।

यस्तै सन्तानको सपना पूरा गर्न विराटनगरको एक दम्पतीले (नाम उल्लेख नगर्ने सर्तमा) आफ्नो छोराको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबिबिएस प्रथम वर्षमा भर्ना गराए।

उनले जग्गा धितो राखेर छोरालाई एमबिबिएस भर्ना गराएका थिए तर विभिन्न बहानामा थप पैसा असुल्न लगाएर अभिभावकसहित विद्यार्थीलाई पनि दबाब दिएको उनले बताए।

‘मैले दुःख गरेर जोडेको जग्गा धितो राखेर बाबुको भर्ना गरेको हो, मसँग कहाँ प्रशस्त पैसा छ र? उनले भने, ‘हाम्रो पैसा चाहिँ पानी हो र ? तर सञ्चालकले पानी बराबर सम्झेको छ’‚ यति गुनासो व्यक्त गर्न भ्याएका अभिभावक नोबेलविरुद्ध थप अरू केही बोल्न चाहेनन्।

यता बिहीबार प्रशासनको रोहबरमा भएको छलफलमा कुनै अतिरिक्त शुल्क नलिने भन्ने सहमति गरेको नोबेल कलेजले शुक्रबार नै अभिभावकलाई फोन गरी अतिरिक्त शुल्क बुझाउन ताकेता गरेको आन्दोलनरत विद्यार्थीहरू बताउँछन्।

शुक्रबार कलेजबाट बुवाको फोनमा पैसा तिर्न दबाब दिएको सुनेका एक विद्यार्थी कलेज पुग्दा २० जनालाई मात्रै कक्षामा राखी अध्यापन भइरहेको देखे।

एमबिबिएस प्रथम वर्षमा एक सयजना विद्यार्थी भर्ना भएका छन्। पूर्वसहमति विपरीत आइतबार नोबेल प्रशासनले अधिकांश विद्यार्थीलाई बाहिरै राखेर कक्षा सञ्चालन गरेपछि त्यसको विरोधमा विद्यार्थीहरू उत्रिए।

बिहीबार मोरङ प्रशासनसँगको छलफलमा नोबेलले दुईबुँदे सहमति गरेको थियो। यसको पहिलो बुँदामा अतिरिक्त शुल्क नलिने र दोस्रो बुँदामा विवाद साम्य नभएसम्म कक्षा नचलाउने उल्लेख थियो।

कक्षा प्रवेशको माग गर्दै पुगे विद्यार्थी संगठन

केही समयको अन्तरालमा एमबिबिएसका विद्यार्थीको विरोधलाई समर्थन गर्दै विभिन्न विद्यार्थी संगठनका विद्यार्थी पनि नोबेल परिसर पुगे। उनीहरूले कक्षा रोक्न वा सबैलाई प्रवेश दिन माग गरे तर एक्कासी ती विद्यार्थी समूहमाथि ढु्ंगा प्रहार भयो। त्यसपछि झडप सुरु भयो।

शुल्क नतिरेको भरमा विद्यार्थीहरूलाई कक्षा प्रवेश गर्न नदिनु गलत हो भन्दै सम्झाउँदै गर्दा एक्कासी ढुंगा प्रहार भएको विद्यार्थी नेता शिवरतन शाहले बताए।

उनले भने, ‘हामीलाई सुरक्षा गार्डले ढुंगा हाने र केही साथी घाइते पनि भएका छन्।’

सरकारलाई अतिरिक्त शुल्क नलिने जवाफ दिँदै आएका नोबेल मेडिकल कलेजले अभिभावक र विद्यार्थीलाई गरेको व्यवहारले दैनिक जस्तो तनाव झेल्दै आइरहेको छ भने यस्तो दोहोरो व्यवहारले यति वेला विद्यार्थीको भविष्य अन्योलमा पर्नुका साथै अभिभावक र विद्यार्थी मारमा परेका छन्।

मुख्यमन्त्रीलाई ज्ञापनपत्र

संयुक्त विद्यार्थी संगठनले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएका छन्। नोबेलमा भएको विद्यार्थी र प्रशासनबिचको झडपपछि विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले निर्धारण र निर्देशन गरेको शुल्कभन्दा कुनै पनि बहानामा अतिरिक्त शुल्क नलिन भन्दै विद्यार्थी संगठनले सरकारलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका हुन्।

चिकित्सा शिक्षा आयोगले निर्धारण र निर्देशन गरेको शुल्कभन्दा कुनै पनि बहानामा अतिरिक्त शुल्क नलिन संयुक्त विद्यार्थी संगठनले निरन्तर आन्दोलन गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

‘राज्यको कानुन नमान्ने नोबेल मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन र पीडित विद्यार्थीलाई न्याय दिई अविलम्ब सौहार्दपूर्ण वातावरणमा कक्षा सुचारु गराउन हामी माननीय मुख्यमन्त्रीमार्फत सम्माननीय प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै मेडिकल शिक्षामा देखिएको विकृतिको अन्त्य गर्न संयुक्त विद्यार्थी संगठन हार्दिक आग्रह गर्दछ। यथाशक्य हाम्रा भाग सम्बोधन नभए हामी कडाभन्दा कडा कदम चाल्न बाध्य हुने कुरा जानकारी गराउँछौँ।’

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नोबेल मेडिकल कलेजमा भएको गतिविधि प्रधानमन्त्री कार्यलयमा लिखितरूपमा छानबिन तथा कारबाहीका लागि अनुरोध गर्ने बताएका छन्।

आइतबार विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले प्रदेश सरकार मातहतमा रहेका संसदीय समितिलाई छानबिन गर्न समेत आग्रह गर्ने बताए।

सम्पर्कमा आउन चाहेनन्

नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले केही दिनअघि मात्रै टेलिभिजनहरूलाई अन्तर्वार्ता दिने क्रममा अतिरिक्त शुल्क नलिइएको र नियमले पाउने मात्रै लिइएको दाबी गरेका थिए। यही विषयको जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् अर्थात् (उनको फोन उठेन)।

१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबेलले विभिन्न शीर्षकमा साढे ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ। चिकित्सा शिक्षा आयोगले भने एमबिबिएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो।

यो वर्ष एक सय विद्यार्थी भर्ना भएको उक्त कलेजमा विद्यार्थी र अभिभावकहरू चिकित्सा शिक्षा आयोगले तोकेबाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन्।

नोबेलले एमबिबिएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिप बापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाब दिँदै आएको विद्यार्थीले बताएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.