सिन्धुली : सिन्धुलीको हहिरपुरगढी गाउँपालिकामा यो वर्ष तीन ठूला खानेपानी आयोजना निर्माण हुने भएका छन्।
गाउँपालिकाले विभिन्न वडाका गाउँमा वर्षौंदेखि रहँदै आएको खानेपानीको अभाव हटाउन चालु आर्थिक वर्ष तीन ठूला खानेपानी आयोजना निर्माण गर्न थालेको हो।
तीन ठूला आयोजनामध्ये एउटा खानेपानी आयोजना भने निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको छ। हरिहरपुरगढी गाउँपालिका २ को सिरपुर–झनझने–रतनपुर खानेपानी आयोजना निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको गाउँपालिकाले जनाएको छ।
सिरपुर–झनझने–रतनपुर खानेपानी आयोजना नेपाल स्वास्थ्यको लागि पानी (नेवा) संस्था तथा गाउँपालिकाको साझेदारी र जनश्रम दानबाट निर्माण भएको गाउँपालिका अध्यक्ष कारसाङ लामाले बताए। सिरपुर–झनझने–रतनपुर खानेपानी आयोजनाबाट वडा नं. २ का करिब ४ सय घरधुरीका नागरिक खानेपानी सुविधाबाट प्रत्यक्ष लाभान्वित हुने गाउँपालिका अध्यक्ष लामाले बताए।
करिब १ करोड ९० लाखको हाराहारीमा निर्माण भएको खानेपानी आयोजनामा ३० लाख जनश्रमदान, ६० लाख गाउँपालिका र एक करोड नेपाल स्वास्थ्यको लागि पानी (नेवा) संस्थाको साझेदारी रहेको अध्यक्ष लामाले बताए।
लिफ्ट सिस्टममार्फत झोझोरा खोल्छीको पानी झन्डै २२ सय मिटर माथि रहेको दुईवटा ट्यांकीमा ल्याई त्यहाँबाट पाइपमार्फत स्थानीयको घर घरमा खानेपानी वितरण गरिने गाउँपालिकाका ईन्जिनियर भिष्मदिप सुनुवारले बताए।
‘झोझोरा खोल्छीमा एक लाख लिटर क्षमताको मुख्य ट्याङ्की छ। झोझोरा खोल्छीको पानी दुई वटा मुहानबाट पहिला त्यो ट्याङ्कीमा जम्मा हुन्छ। त्यसपछि लिफ्ट प्रविधिबाट पम्पीङ गरेर माथि रहेको ५०-५० हजारको लिटरको दुई वटा ट्याङ्कीमा जम्मा गरेर त्यहाँबाट चाँहि घरमा वितरण हुन्छ’ इञ्जिनियर सुनुवारले भने।
लिफ्ट प्रविधिबाट पानी माथि ल्याउन २५ केभी क्षमताको विद्युत ट्रान्समिटर जडान गरी पम्पिङ मेसिन गरिएको छ। यस आयोजनाबाट लाभान्वित हुने नागरिकले वर्षौंदेखि खानेपानीको प्यास मेटाउन धेरै मिहिनेतका साथ श्रमदान गरेका छन्।
हरिहरपुरगढी गाउँपालिका २ श्रीपुरका लक्ष्मण कुमार राई महिनौँ दुःखका साथ जन श्रमदान गरे पनि घरमै आउने गरी खानेपानी आयोजना बनेमा खुसी भएका छन्।
वर्षौंदेखिको खानेपानीको अभावमा बोगेको दुख यस खानेपानी आयोजनाले भुलाउने राईको विश्वास छ। चालु आर्थिक वर्षको असार मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने गरी हरिहपुरगढी गाउँपालिका ४ मा हाक्पारा खानेपानी आयोजना र हरिहपुरगढी गाउँपालिका ५ मा बोटेनी खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु भएका छन्।
वडा नं. ४ को हाक्पारा खानेपानी आयोजना संघीय सरकारको विशेष अनुदान ८३ लाख लागतमा निर्माण हुन थालेको हो। लिफ्ट प्रविधिमार्फत वितरण हुने यस खानेपानी आयोजनाले वडा नं. ४ को हाक्पारा क्षेत्रका करिव २ सय २० घरधुरी लाभान्वित हुने इन्जिनियर सुनुवारले सुनाए।
इन्जिनियर सुनुवारका अनुसार यस खानेपानी आयोजना अन्तर्गत निर्माण भएका दुई वटा ईनारबाट लिफ्ट प्रविधिबाट दुईवटा ट्याङ्कीमा ल्याउर खानेपानी वितरण गरिने छ। ५ मा बोटेनी खानेपानी आयोजना बागमती प्रदेश सरकारको विशेष अनुदान अन्तर्गतको ५० लाख बजेटमा निर्माण हुन थालेको हो।
बोटेनी खानेपानी आयोजनाबाट बोटेनी, भलाए लगाएत गाउँका १ सय ३० भन्दाबढी घरधुरीका नागरिक खानेपानी सुविधाबाट लाभान्वित हुने जनाइएको छ। यो दुवै खानेपानी आयोजना निर्माणको लागि ठेक्का प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।