|

काठमाडौं : प्रधानमन्त्री कप टि-२० क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मीले विजयी सुरुवात गरेका छन्। आफ्नो पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दा पुलिसले सुदूरपश्चिममाथि दुई रनको रोमाञ्चक जित निकाल्यो।

टियु मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको त्रिभुवन आर्मीले कर्णाली सामु ११७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कर्णाली प्रदेश १४.४ ओभरमा अल आउट हुँदै ५३ रनमा समेटियो।

पहिलो ब्याटिङ गर्दै विभागीय टिम आर्मीले १९.१ ओभरमा अलआउट हुँदै ११६ रन बनाउँदा कप्तान विनोद भण्डारीको २९ रन सर्वाधिक रह्यो। त्यस्तै‚ हरि चौहानले २० तथा थप दोहोरो रनका रुपमा रोहित पौडेल र कुशल मल्लले समान १०-१० रन प्रहार गरेका थिए।

आर्मीलाई अलआउट गर्ने क्रममा कर्णालीका प्रकाश जैशीले तीन विकेट लिँदा अनुज चुनराले दुई विकेट लिए। त्यस्तै‚ दिनेश अधिकारी, रविन्द्र शाही र राज साहका नाममा १-१ विकेट रह्यो।

११७ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली खराव प्रदर्शनको सिकार भयो। कर्णालीका लागि अर्जुन घर्तीले १६ रन बनाउँदा रविन्द्र शाहीले १५ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। आर्मीका जितेन्द्र मुखियाले चार विकेट लिँदा शुसन भारी र शहाव अलामले २-२ विकेट लिए। त्यस्तै‚ विक्रम शोब र सोमपाल कामीले १-१ विकेट लिए।

कम स्कोरमा पुलिस भाग्यमानी

मुलपानी मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन मात्रै बनाएको थियो। तर‚ ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रनमा समेटिएपछि पुलिसले रोमाञ्चक जित निकाल्यो।

पहिलो ब्याटिङ गरेको पुलिसका लागि कुशल भुर्तेलले ३८ बलमा २१ रन जोडेका थिए भने पवन सर्राफले १६ बलमा २० रन बनाएका थिए। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।

पुलिसलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका नारायण जोशी र आदित्य महताले समान ३-३ विकेट लिएका थिए। शेर मल्लको नाममा २ विकेट रह्यो। ९४ रनको लक्ष्य पछ्याएर जवाफि इनिङ सुरु गरेको सुदूरपश्चिम निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्रै जोड्न सक्यो।

सुदूरपश्चिमका लागि ओपनर गजेन्द्र बोहराले २७ रन बनाउँदा नारायण जोशीले २२ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा खडक बोहोराको १३ रन रह्यो। अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन्। पुलिसका लागि आरिफ शेखले चार विकेट लिए भने करण केसी, पवन सर्राफ र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.