|

काठमाडौं : कोरोना संक्रमण पुनः बढेको र तेस्रो लहरको संकेत देखिएको भन्दै सरकारले विभिन्न निर्णय गरेको छ।

यसरी तेस्रो लहरको सुरुवात हुँदा कोरोना संक्रमण पत्ता लगाउन गरिने पिसिआर परीक्षणका लागि अत्यावश्यक किट भने निकै कम रहेको छ।

परीक्षण किटको अभावले गर्दा पछिल्लो केही दिनदेखि संक्रमण बढेको र यसले गर्दा परीक्षण गराउन जाने शंकास्पद विरामी बढे पनि सरकारले परीक्षणदर बढाउन सकेको छैन।

एकातिर सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नपाउने निर्णय गरिसकेको छ। अर्कोतिर पिसिआर परीक्षण गर्न चाहिने किट पुग्दो मात्रामा छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति महाशाखाका अनुसार हाल २ लाख ९३ हजार ८०९ मात्रै पिसिआर किट छ।

यस्तै आरएनए एक्स्ट्राक्सन किट एक लाख ४६ हजार २२८ र आरएनए एक्स्ट्राक्सन किट दुई लाख ८३ हजार ७४८ रहेको छ।

आपूर्ति महाशाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार यसमध्ये काठमाडौं केन्द्रीय भण्डार कक्षमा त एक लाखभन्दा कम परीक्षण किट रहेको‍ छ।

‘परीक्षण किट अहिले परीक्षण गर्नुपर्ने आवश्यकताको आधारमा कम छ, हाल हामीसँग यहाँ एक लाखभन्दा पनि कम छ भने बाँकी विभिन्न प्रदेशमा छ’‚ उनले भने।

परीक्षण किट मात्रै नभएर परीक्षणका लागि स्वाब संकलन गर्न आवश्यक पर्ने  ‘भिटिएम’ किट समेत एकदमै कम छ।

सरकारसँग नै परीक्षण किट कम हुँदा अहिले सरकारी प्रयोगशालाहरूमा एकदमै परीक्षण भएको बताइएको छ।

हाल देशभर २५ देखि ३० हजारसम्म पिसिआर परीक्षण गर्न मिल्ने सरकारी प्रयोगशाला रहेका छन्।

कोरोना संक्रमितको संख्या एक्कासी बढेको हुँदा हाल परीक्षण किट धेरै मौज्दात नरहेको समेत चौरसियाले बताए।

सातै प्रदेशमा जडान गर्‍यो अक्सिजन प्लाण्ट जडान

यस्तै पछिल्लो समय सरकारले देशभर ८५ ओटा अक्सिजन प्लाण्ट जडान गरेको छ।

ओमिक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राखी पूर्वतयारी स्वरूप सातै प्रदेशका विभिन्न अस्पतालमा अक्सिजन प्लाण्ट जडान गरिएको महाशाखाले जनाएको छ।

प्रदेश १ मा ११, प्रदेश २ मा ६, बागमती प्रदेशमा २१, गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ५ वटा गरी देशभर ८५ वटा अक्सिजन प्लाण्ट स्थापना गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.