|

काठमाडौं : ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्र वर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ। मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को बैठकले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम तथा महोत्सव नगर्न स्थानीय तहसँग आग्रह गरेको छ।

साथै पनौती नगरपालिका–७ त्रिवेणीघाट क्षेत्रमा सञ्चालन हुने १२ वर्षे बृहत् मकर मेलामा २५ जनाभन्दा कम र भीडभाड नहुने गरी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाई भक्तजनलाई स्नानमात्रै गर्ने व्यवस्था मिलाउन सुरक्षा निकाय, पनौती नगर कार्यालय तथा मेला व्यवस्थापन पक्षलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।

नगरपालिका कर्यालयले सूचना जारी गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर मेला तथा अन्य विविध कार्यक्रम स्थगन गरिएको जनाएको छ। “मेलामा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर मात्रै २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा स्नानमात्रै गर्न पाइने सूचित गरेका छौँ”, नगरप्रमुख भीम न्यौपानेले भने। मेला भर्न छिमेकी भारतबाट समेत तीर्थालु आउने गरेका छन्। 

मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो। पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटर तथा बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्छ। मेलाका लागि नगरले गत वर्ष रु पाँच करोड र यस वर्ष रु तीन करोड बजेट छुट्याएको छ। त्रिवेणीघाटमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिस्थित गोरखनाथलाई अर्पण गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.