|

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ।

५८९ जनाको पिसिआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको हो।

मोरङको विराटनगरमा ११३, बुढीगंगामा ८, रंगेली र सुन्दरहरैचामा २/२, ग्रामथान, उर्लाबारी, कटहरी र पथरीशनिश्चरेमा १/१, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा ४, दुहबी र हरिनगरमा २/२, इनरुवा र स्थानीय तह नखुलेका १/१, झापाको भद्रपुरमा ५, बिर्तामोडमा ३, मेचीनगरमा २, बुद्धशान्ति, अर्जुनधारा, बाह्रदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १/१, धनकुटा नगरपालिकामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज (शनिबार) १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ महिला र ९ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ हजार ३९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोभिड–१९ रोकथामका लागि प्रदेशस्तरीय सर्वदलीय छलफल

प्रदेश १ सरकारले कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा राजनीतिक दलहरूसँग प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ।

रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा शुक्रबार छलफल आयोजना गरिएको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

मुख्यमन्त्री राईले कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले छलफल कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे।

उनले राजनीतिक दलहरूको दलीय संयन्त्र आधारभूत तहसम्म हुने भएकाले दलहरू र तिनका भ्रातृ संगठनको परिचालनले रोगविरुद्ध लड्न सकिने विश्वास व्यक्त गरे।

‘सरकारको प्रयासमा दलहरूले साथ दिए कोभिडविरुद्ध तय गरिएका योजना सफल हुन सक्छन्’, मुख्यमन्त्री राईले भने। प्रदेश १ मा खोपको पर्याप्त व्यवस्था भए पनि पछिल्लो समय खोप लगाउन आउने संख्यामा कमी आएकोमा राजनीतिक दलहरूलाई यसप्रति जागरण पैदा गरिदिन उनले अपिल समेत गरे।

कोरोनाको तेस्रो लहर सकेसम्म निषेधाज्ञा वा लकडाउन गर्ने अवस्था नआउने गरी सामना गर्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिँदै पटकपटकको लकडाउनले जनताको दैनिकी, रोजीरोटीसहित मुलुकको अर्थतन्त्र चौपट हुनेतर्फ सरकार संवेदनशील रहेको बताए।

होल्डिङ सेन्टरको अनुगमन

यस्तै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीहरूको टोलीले बिहीबार विराटनगरको भारतसँग सीमा जोडिएका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन्।

सरकारले सीमा क्षेत्रमा निर्माण गरिरहेको होल्डिङ सेन्टर, जोगबनीबाट रानी प्रवेश गर्ने मुख्य नाका र कोरोना भाइरस नियन्त्रणका लागि सीमा क्षेत्रमा भइरहेको कामका बारेमा पनि मुख्यमन्त्रीसहितको टोलीले अनुगमन गरेका हुन्।

भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्ररूपमा बढिरहेको हुँदा प्रदेश १ मा ओमिक्रोनको संक्रमण प्रसार हुनसक्ने सम्भावित नाकाहरूमा निगरानी बढाउन र नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्न सरकार तत्पर रहेको मुख्यमन्त्री राईले बताए।

चार दिनभित्र होल्डिङ सेन्टर निर्माण कार्य सक्न मन्त्रीको निर्देशन

विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार शय्या भएको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ। गत असार ३ गतेदेखि निर्माण सुरु भएको होल्डिङ सेन्टर एक महिनाभित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाको लक्ष्य भए पनि तत्काल निर्माण सम्पन्न गर्ने सरकारले निर्देशन दिएको हो।

पानी र बिजुली अभावका कारण होल्डिङ सेन्टर निर्माणमा गतिरोध उत्पन्न भइरहेको जानकारी नेपाली सेनाले गराएपछि विराटनगर १६ का वडाध्यक्ष मनोज सुब्बाले पानी र बिजुली तत्काल उपलब्ध गराउन आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले चार दिनभित्र होल्डिङ सेन्टर निर्माण गरिसक्न निर्देशन दिएका छन्। उनले दिनरात काम गरेर भए पनि चार दिनभित्र काम सकिनुपर्ने बताउँदै तत्काल एक सय शय्या तयार पार्न आग्रह गरे।

सीमा नाकामा संक्रमणको जोखिम बढी हुने भएकाले अनावश्यक आवतजावत रोक्नुपर्ने भन्दै टोलीले सोहीअनुसार निगरानी र नियन्त्रणमा ध्यान दिन सुरक्षाकर्मीलाई निर्देशन दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.