|

जाजरकोट : भेरी करिडोरअन्तर्गत दुनै मरिम्ला सडक निर्माणका लागि अर्थ मन्त्रालयले थप बजेटका लागि सहमति दिएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कर्णाली प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेत र अर्थमन्त्री जनार्दन शर्मा, प्रतिनिधिसभा सदस्य सत्य पहाडीको उपल्लो डोल्पाको भ्रमणपछि थप बजेट उपल्लो डोल्पाका लागि अर्थ मन्त्रालयले सहमति दिएको अर्थमन्त्री शर्माको निजी सचिवालयका कृष्ण केसीले जानकारी दिए।

१ अर्ब २० करोड बजेट निर्माणका लागि सडक डिभिजन चौरजहारीमा पुगिसकेको सडक डिभिजन चौरजहारीका प्रमुख धुर्वकुमार झाले बताए। बाँकी २ अर्ब १५ करोड रुपैयाँ अर्थ मन्त्रालयले सडकको लागि सहमति दिएको छ। भेरी करिडोर अन्तर्गतको यो सडक भारतको रुपैडिया जमुना नाकादेखि डोल्पाको धो मोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्न त्रिदेशीय मार्गको रुपमा रहेको छ।

भेरीकोरिडोर अन्तर्गतको ट्रयाक खोल्न बाँकी रहेको दुनै–लासिक्याप–धो सडक खण्डको डिपिआरको १ अर्ब २० करोड  बजेट कार्यान्वय भइरहेको र २ अर्ब १५ करोड बजेट अर्थमन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाई गत पुस महिनाको दोस्रो साता मन्त्रीस्तरीय निर्णयबाट सहमति दिइसकेको छ।

बजेटको सुनिश्चितासँगै  दुनै –लासिक्याप –धो सडक खण्ड बन्ने निश्चित भएसँगै उपल्लो डोल्पाका स्थानीयबासी खुसी भएका छन्। अर्थ मन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाइ बजेट सहमतिसँगै सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाइ दिनुपर्ने डोल्पोबुद्द गाउँपालिका वडा नम्वर १ का अध्यक्ष ग्याल्पो थापा भोटेले बताए।

सरकारले भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्दै त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको छ। भेरी करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ।

कर्णेल  विश्ववन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोर अन्तर्गतका जाजरकोट –डोल्पा सडक निर्माण कार्य २०६५ मा सुरु भएको थियो। ट्याक औपनसँगै सेनाले उक्त ११८ किलोमिटर सडक २०७६ सालमै भौतिक पूर्वाधार मन्त्रालयलाइ हस्तान्तरण गरिसकेको छ। 

दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कुल १ सय १० किलोमिटरमध्ये नेपालतर्फ ६० किलोमिटर सडक निर्माण भइसकेको छ। दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक बन्न बाँकी छ। दुनैदेखि– धो सम्मको सडक निर्माण भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ।

डोल्पा सदरमुकाम दुनैसम्म सडक सञ्जालले जोडिए पनि पुल नबन्दा सवारीसाधन आवतजावतमा निकै समस्या छ।

दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माण त्यति सहज छैन। चट्टानै चट्टानले बनेका ठूला पहाडका कारण निर्माण कार्यमा ढिलाइ हुने देखिन्छ। स्थानीयका अनुसार अहिले यो बाटो मान्छेलाई नै जीवन हत्केलामा राखेर यात्रा गर्नुपर्ने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.