|

जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक चिकित्सक राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार अहिले ५२ जनालाई संक्रमण भएको छ। तीमध्ये ३० जना कर्णाली प्रतिष्ठानका पदाधिकारी स्वास्थ्यकर्मी र कर्मचारी छन्।

प्रतिष्ठानले गरेको  पिसिआरबाट १५ जना र एन्टिजेनबाट ३७ जनामा कोरोना देखिएको हो।

मेडिकल रेकर्डर बुढाका अनुसार लक्षण देखिएका स्वास्थ्यकर्मीलाई परीक्षण गराउने तर अन्यको भने गराइएको छैन।

सबैको परीक्षण गराए अस्पतालको सेवा नै प्रभावित हुने भएकाले यसो गरिएको बताइएको छ।

कोरोनाको तेस्रो लहरमा १ सय ७ जनाको परीक्षण गरिएको थियो।

जसमध्ये एन्टिजेनबाट ९० जना र पिसिआरबाट १७ जनाको परीक्षण गरिएको थियो।

त्यस्तै प्रतिष्ठानको आइसोलेशनमा ४ जना उपचाररत छन्।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले स्वाथ्यकर्मीको अवस्था बुझी तत्काल बैठक बस्ने बताइन्।

उनले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको अवस्थामा स्वास्थ्य सेवा नै प्रभावित हुने भन्दै अवस्था बुझ्ने बताइन्।

जुम्लामा संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण गरिएकामध्ये ४ सय ६३ जनामा संक्रमण देखिएको थियो।

दोस्रो लहर जुम्लामा ०७८ वैशाखदेखि देखिएको थियो।

त्यसवेला ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो भने ३ हजार ८ सय २ जनाको एन्टिजेन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएका थिए।

जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ।

जिल्लामा ५० हजार ९ सय ८५ जनाले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्।

३३ हजार ६ सय ४५ जनाले खोपको पूर्ण मात्रा लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.