|

जाजरकोट : स्वास्थ्य सेवा कार्यालयमा जडान गरिएको अक्सिजन प्लान्टमा विद्युत्‌को भोल्टेज नपुग्दा सञ्चालनमा समस्या देखिएको छ।

३०० केभिएको विद्युत् पावर आवश्यकता पर्ने भएकाले अहिले प्लान्ट सञ्चालनमा समस्या भएको हो। स्वास्थ्य सेवा कार्यालयमा अहिले सो क्षमताको पावर प्रशारण नभएका कारण सञ्चालनमा समस्या भएको हो।

स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउनका लागि पत्राचार गरिसकेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए।

क्षमता विस्तार गर्नका लागि १० लाख रुपैयाँ बराबरको खर्चको इस्टिमेट आएको समेत जैसीले बताए। उता नेपाल विद्युत् प्राधिकरणले ५० शय्याको अस्पताल निर्माण कार्य चलिरहेकाले पटक, पटक क्षमता विस्तारका लागि दुःख गर्नुभन्दा एकैपटक काम गरेर सेवा लिँदा सजिलो हुने बताएको छ।

स्वास्थ्य सेवा कार्यालयमा जेनरेटर भए पनि जेनरेटरको पावरले अक्सिजन प्लान्टमा समस्या आउने डरले खासै प्रयोग नगरेको कार्यालय प्रमुख जैसीले जानकारी दिए।

कोभिडको महामारी फैलिएको समयमा प्लान्ट सञ्चालन प्रभावकारी बनाउन आफूले पहल जारी राखेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए।

विद्युत्‌को समस्याले प्लान्ट सञ्चालनमा समस्या आएको गुनासो आएलगत्तै कामको लागि प्रक्रिया सुरु गर्न निर्देशन दिइएको उनले बताए। 

विद्युत्‌को समस्या छिट्टै समाधान हुने विद्युत् प्राधिकरणले बताएको छ। जाजरकोटमा अहिले ११ केभी प्रशारण लाइनको विद्युत् सञ्चालनमा रहेको छ।

१३२ केभी प्रशारण लाइनका लागि कोहलपुर हुँदै सुर्खेतसम्म काम भइरहेको छ। उताको काम सम्पन्न हुनेबित्तिकै जाजरकोट खण्डको समेत काम हुनेछ।

१३२ केभी प्रशारण लाइनका लागि मेहलकुनामा सब स्टेशन निर्माण कार्य समेत बाँकी रहेको छ। यो प्रशारण लाइन निर्माण भएमा मात्र पूर्ण क्षमतामा काम हुनेछ। 

जाजरकोट भएर रुकुम पश्चिममा विद्युत् सेवा प्रवाह हुँदै आएको छ। जाजरकोट हुँदै डोल्पा लिनुपर्ने कामको वातावरणीय प्रभाव मूल्यांकनको काम समेत भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.