|

हेटौंडा : बागमती प्रदेशसभाको दुईवटा समितिको सभापति चयन गर्न निर्वाचन हुने भएको छ।

प्रदेशसभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति चयन गर्न हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सो समितिहरूको सभापति चयन गर्न आगामी माघ १७ गते सोमबार निर्वाचन गर्ने सूचनामा उल्लेख छ।

गत वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछन्। त्यस्तैगरी, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछन्।

अर्थ तथा विकास समितिका सदस्यहरु सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री भएकाले उनीहरू निर्वाचनमा सहभागी हुने छैनन्।

अर्थ तथा विकास समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री भएपछि गत वैशाखदेखि नै सभापति पद रिक्त थियो। त्यस्तैगरी, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा केही समयअघि मन्त्री नियुक्त भएपछि सभापति पद रिक्त रहँदै आएको छ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार समितिको सभापति पदको प्रस्ताव आइतबार अपरान्ह ५ बजेसम्ममा दर्ता गराउने समय तालिका छ।

सचिवालयले अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन सोमबार मध्यान्ह १२ बजेका लागि तय गरेको छ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.